नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।
भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए ।
उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी समेत जारी भयो ।
सन्दीपको अहिलेको अवस्था अज्ञात छ । तर, उनले दुईपटक सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको जिकिर गरेका छन् ।
सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ । उनी जमैकाबाट भने बाहिरिएको खुलेको छ । त्यसपछि उनी कुन देश गए भन्ने सूचना प्रहरीसँग छैन ।
प्रहरीले जाहेरीका आधारमा सन्दीपविरुद्धका प्रमाण संकलन गरेको छ । अनुसन्धानकै क्रममा उनीविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ । डिफ्युजन नोटिस जारी भएपछि १९५ देशका प्रहरीको खोजी सूचीमा सन्दीप हुने नेपाल प्रहरीको इन्टरपोलमा काम गरिसकेका अधिकारीहरू बताउँछन् ।
उनीहरूका अनुसार अब इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीले सन्दीप आफ्नो मुलुकमा भए/नभएको ‘लोकेट’ गर्नेछन् । यसबाहेक ती देशका विमानस्थलमा समेत सन्दीपको विवरण उपलब्ध हुनेछ ।
ती अधिकारी भन्छन्, “सन्दीपको पासपोर्टलगायतले उनको अवस्था पत्ता लाग्न सक्छ । तर, कुनै साथीको कोठामा लुकेर बसेको भए केही समय लाग्न सक्छ । तर, उनी अन्तर्राष्ट्रिय सेलिब्रेटी भएकाले लुक्न त्यति सहज भने हुने छैन ।”
सन्दीपलाई कुनै देशको प्रहरीले नियन्त्रणमा लिए नेपालसँग सम्वन्य गरेर डिपोर्ट गर्ने सम्भावना रहने प्रहरी अधिकारीहरू बताउँछन् ।
सन्दीपलाई पक्राउ गरेपनि ती देशको जेलमा भने राख्न नमिल्ने र जसरी पनि नेपाल पठाउनैपर्ने अवस्था रहने प्रहरी अधिकारीहरूको भनाइ छ ।
सन्दीप आफैँ नेपाल आएपनि विमानस्थलमा सबै विवरण हुने भएकाले उनी उड्ने देशको प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखालाई त्यसको जानकारी दिने प्रहरी अधिकारीहरू बताउँछन् ।