२०८१ भाद्र २४, सोमबार

कुशल लिम्बुको पहलमा उर्लाबारीमा एक अरव बढी लगानी

२०७९ आश्विन १, शनिबार
पढ्ने समय : < 1 मिनेट

रूपेन्द्र शेर्मा
उर्लाबारी, १ असोज/प्रदेश साँसद कुशल लिम्बुको पहलमा प्रदेश सरकारले मोरङको उर्लाबारीमा एक अरव भन्दा बढी लगानी गरेको छ । प्रदेश सरकारले मोरङ क्षेत्र नं.१ ‘क’ अन्तर्गतपर्ने उर्लाबारी र मिक्लाजुङमा एक अरव २० करोड रुपैयाँ लगानी गरेको हो । तीमध्ये अधिकांश रकम प्रदेश सरकारले उर्लाबारीमा लगानी गरेको छ ।

प्रदेश साँसद लिम्बुले शनिबार मोरङको उर्लाबारीमा आयोजित रोटरी क्लबको पदस्थापन कार्यक्रममा बोल्दै त्यसबारे जानकारी गराएका हुन् । प्रदेश सभाको पाँच वर्षे अवधिमध्ये दुई वर्षको अन्तरालमा उक्त रकम यस स्थानमा लगानी भएको लिम्बुले बताए ।

बहुबर्षिय सडक निर्माणअन्तर्गत ५८ करोड, पुल निर्माणका लागि सात करोड २५ लाख, मदन भण्डारी ट्रमा सेन्टर भवन निर्माण तथा व्यवस्थापनका लागि तीन करोड ६५ लाख, इलाका प्रहरी कार्यालय उर्लाबारीको भवन निर्माणका लागि दुई करोड १५ लाख, खानेपानी आयोजना निर्माणका लागि १० करोड, सिचाई निर्माणका लागि १० करोड, नदी तटबन्धका लागि ३० करोड, ५० किलो मिटर सडक ग्राभेलका लागि पाँच करोड र बेतिनी सिमसार विकासका लागि ३५ लाख रुपैयाँ प्रदेश सरकारले लगानी गरेको साँसद लिम्बुले जानकारी दिए ।
विकासका लागि सदासर्वदा आफूले भूमिका निर्वाह गर्ने तर विकासका लागि कहिल्यै वाधक नहुने प्रतिबद्धता व्यक्त गर्दै साँसद लिम्बुले यस क्षेत्रमा अझ बढी विकासको लहर ल्याउने आफ्नो चाहना रहेको बताए ।

रोटरी क्लबका निवर्तमान अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा २०२२/२३ का लागि हेमचन्द्र भट्टराईको अध्यक्षतामा रहेको नयाँ समितिलाई रोटरी क्लव अफ उर्लाबारी र किशन अटलको अध्यक्षतामा रहेको नयाँ समितिलाई रोट्रयाक क्लब अफ उर्लाबारीमा पदास्थपन गरी सपथ खुवाइएको थियो ।

सञ्चारकर्मी तथा रोटरी क्लब अफ उर्लाबारीका सचिव घनश्याम भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा विनोद न्यौपाने, राजेश महेश्वरीलगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार