२०८१ श्रावण ६, आईतवार

डिजिटल प्रविधितर्फ उर्लाबारी उवा संघ

२०७९ भाद्र २१, मंगलवार
पढ्ने समय : 2 मिनेट

सुमन घिमिरे
उर्लाबारी, २१ भदौँ/प्रविधिको विकाससंगै उर्लाबारी उद्योग वाणिज्य संघ डिजिटल प्रविधितर्फ उन्मुख भएको छ । संघको गत शनिवार सम्पन्न ३४ औँ साधारणसभामा संघको डिजिटल सेवाको उद्घाटन गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाईले डिजिटल प्रविधि सेवाको उद्घाटन गरेका थिए । संघले ल्याएको डिजिटल प्रविधि सेवाका विषयमा साधारणसभामा संघका लेखा सदस्य रोशन घिमिरेले प्रस्तुतिकरण गरे ।संघले ल्याएको यो डिजिटल प्रविधिमार्फत् अब यहाँका उद्योगी व्यवसायीले अनलाईनमार्फत फर्म भर्न सकिने, सदस्यता नविकरण तथा दर्ता, अनलाईनमार्फत नै पेमेन्ट, क्युआर कोडमार्फत सम्पुर्ण जानकारी, अनलाईनमार्फत नै व्यवसायीले आफ्नो कागजपत्र हेर्न र डाउनलोड गर्न सक्ने लगायतका सेवाहरु ल्याएको घिमिरेले बताए । साथै संघले गर्ने कार्यक्रम र बिभिन्न व्यवसायका विषयमा जानकारी पनि अब डिजिटल प्रविधिमार्फत दिनेभएको छ । संघले उर्लाबारी नगरपालिकाभित्र रहेका उद्योगी व्यसायीको बायोडाटासहितको अभिलेखीकरण समेत गरेको छ । नगरभित्र रहेका दुई हजार एक सय उद्योगी व्यवसायीको बायोडाटासहितको अभिलेखीकरण गरिएको संघका अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिए । उर्लाबारी नगरभरिको बजार अभिलेखिकरण रिपोर्ट संकलन गरेर सबै काम क्युआर सिस्टममा अपडेट गराउने काम अन्तिम चरणमा पुगेको संघले जनाएको छ ।

आधुनिक प्रविधिको विकाससंगै डिजिटल प्रविधिमार्फत उद्योगी व्यवसायीलाई सेवा दिने लक्ष्यमा संघ अघि बढिरहेको महासचिव हेमराज गुरुङले जानकारी दिए । नयाँ समिति निर्वाचित भएको एक वर्षको अवधिमा संघले संघको भौतिक विकाससंगै अन्र्तरक्रिया, छलफल, सहयोग, पान दर्ता नविकरण र कर चुक्ताका लागि सहजिकरण, बिज्ञहरुसँग परामर्श, काँटा, ढक, तराजु आदिको चेकजाँच कार्य, बैँकर्ससँग छलफल गर्दै असहज परिस्थितिका विषयमा अन्र्तरक्रिया लगायतका कार्यहरु गरेको उल्लेख छ ।

संघले भावी योजनामा उद्योगी व्यवसायीलाई कर, भ्याट तथा लेखा सम्बन्धी तालिम संचालन, यहाँका उद्योगी व्यवसायीको अभिलेख सफ्टवेर मार्फत राख्ने, संघको खाली जग्गामा सुबिधा सम्पन्न हल निर्माणका साथैँ अपांगता मैत्री शौचालय निर्माण, नगरपालिकासँग समन्व्य गर्दै नगरभित्र बिग्रिएका सिसी क्यामरा र सडक बत्तीहरु मर्मत तथा थप जडानका लागि पहल गर्ने, स्थानीय श्रोत साधनलाई उपयोग गर्दै बाँसबाट तयार हुने सामाग्रीको उपयोगलाई बृद्धि गर्दै लैजानेमा जोड दिने रहेको छ । शनिवार पनि उर्लाबारी बजार खुल्ला राख्ने निर्णय भएकाले यहाँको व्यापार व्यवसाय प्रबद्र्धनमा उद्योगी व्यवसायीको सुझाब र सल्लाहकै आधारमा संघ अघि बढ्ने कार्यसमिति सदस्य नुतन राईले बताए ।

उर्लाबारी–मधुमल्ला सडक जीर्ण हुँदा उर्लाबारीको व्यापार व्यवसाय फस्टाउन नसकेकाले सो सडक निर्माणमा सबै एकताबद्ध भएर अघि बढ्ने यहाँ जनप्रतिनिधिहरुले पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार