उर्लाबारी, १७ भदौ/आर्थिक हिनामिना गरेको अभियोगमा मोरङको उर्लाबारी–६ स्थित सुर्य बचत तथा ऋण सहकारी संस्थाका दुई कर्मचारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा बजार प्रतिनिधि रोचित पौडेल र क्यासियर प्रतिमा चौहान रहेका छन् । पक्राउ परेका कर्मचारीहरुविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए ।
पौडेल र चौहानले कति रकम हिनामिना गरे भन्ने सम्बन्धमा संस्थाका पदाधिकारीहरुले खुलाउन नचाहेपनि करिब २७ लाख रुपैयाँ हिनामिना गरेको बुझिएको छ । त्यस घटनाको विषयमा आरोपितका आफन्त र संस्थाका पदाधिकारीबीच शुक्रबार विहान छलफल भएपनि विना निश्कर्ष टुंगिएको छ । छलफल निश्कर्षमा पुग्न नसकेपछि प्रहरीले उनीहरुविरुद्ध मुद्दा चलाएको हो ।
यसैबीच आर्थिक हिनामिनाको विषयमा संस्थाका अध्यक्ष तेजनाथ घिमिरेसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।