२०८१ श्रावण ६, आईतवार

उर्लाबारीमा सर्पट नापी सुरु हुने

२०७९ भाद्र १३, सोमबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १३ भदौ/मोरङको उर्लाबारी नगरपालिकामा सर्पट नापी सुरु हुनेभएको छ । सर्पट नापी सुरु गर्ने विषयमा नगरपालिकाले नापी कार्यालयसमक्ष प्रयास गरिहेको छ ।

सर्पट नापिको विषयमा विराटनगरस्थित नापी कार्यालयसँग कुराकानी भइरहेको नगर प्रमुख गंगाप्रसाद खरेलले जानकारी दिए । उर्लाबारीमा कहिलेदेखि सर्पट नापी सुरु हुने भन्ने मिति यकिन नभएपनि प्रयास भइरहेकोले आफ्नै कार्यकालमा सुरु गरिने खरेलले बताए ।

उर्लाबारी–८ का वडाध्यक्ष कुलबहादुर कार्कीले सर्पट नापीबाट यहाँको जग्गासम्बन्धी महत्वपूर्ण समस्या हल गर्न सकिने बताए । अघिल्लो जनप्रतिनिधिको पालामा उर्लाबारी नगर कार्यपालिकाले सर्पट नापीको विषयमा निर्णय गरेपनि कार्यान्वयन हुन नसकेको उनले बताए ।

नापी विभागका निर्देशक दामोदर ढकालले सर्पट नापीका लागि विराटनगरस्थित नापी कार्यालयलाई अधिकार प्रत्यायोजन गरिएको बताए । बिराटनगरस्थित नापी कार्यालयसँग समन्वय गरेर उर्लाबारी नगरपालिकामा सर्पट नापी सुरु गर्न सकिने उनले बताए ।

उता झापाको दमक नगरपालिकाले भने २०५६ सालदेखि नै सर्पट नापी सुरु गरेको थियो । दमकका तत्कालिन नगर प्रमुख रोमनाथ ओलीको पालामा त्यहाँ सर्पट नापी सुरु गरिएको हो । दमक नगरपालिकाको अधिकांश भू–भागमा सर्पट नापीको काम सम्पन्न भएका छन् । तर उर्लाबारीमा सर्पट नापीको आवश्यकता भएपनि यहाँका पूर्व जनप्रतिनिधिहरुले चासो नदेखाएकोले अहिलेसम्म सुरु हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार