
रूपेन्द्र शेर्मा
उर्लाबारी, २१ साउन/आन्तरिक मनमुटाबका कारण नेपाली कांग्रेसले मोरङको उर्लाबारी नगरपालिकामा पराजय भोग्नुपरेको तिनकै नेता र उम्मेदवारहरुले स्वीकार गरेका छन् । मनमुटाबका कारण अन्तरघात भएपछि चुनावमा पराजय भएको उनीहरुको सामूहिक बुझाई छ ।
नेपाली कांग्रेस नगर समितिले उर्लाबारी पार्टी प्यालेसमा नवनिर्बाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिन शनिबार आयोजना गरेको कार्यक्रमका कतिपय वक्ताहरुले अन्तरर्घातीहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् भने कतिपय वक्ताले चाहिँ कारबाही गर्दा पार्टी कमजोर हुनेभएकोले आत्मआलोचना गरेर अगाडि बढ्नुपर्ने राय व्यक्त गरेका छन् ।
‘कांग्रेसको शत्रु कांग्रेस नै हो, कांग्रेसले नै कांग्रेसलाई हराउंछ’, केन्द्रीय सदस्य अमृत अर्यालले भने, ‘तर कारबाही गर्दा फेरी पनि कांग्रेसको जीत सम्भव हुँदैन ।’ एकता नै कांग्रेसको बल भएकोले एकता विना कांग्रेसको जीत सम्भव नहुने अर्यालले बताए। ‘कांग्रेसबीचको तिक्तता चुनावसम्मका लागि थाती राख्नुपर्छ । अनिमात्र चुनाव जितिन्छ ।’ उनले भने ।
कांग्रेस प्रदेश १ का सहमहामन्त्री तथा मेयरका उम्मेदवार खड्ग फागोले सुदृढिकरण गरेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । चुनावमा अन्तरघात गर्नेलाई कारबाही नगरेसम्म कांग्रेस मजबुत नहुने उनले बताए । ग्रास लेभलका कार्यकर्ताहरुले आफूलाई मत दिएपनि चारैतिरबाट घेराबन्दी भएकोले चुनावमा हार भएको फागोको बुझाई छ । आफूले विकास निर्माणलाई प्राथमिकतामा राखेर निश्पक्ष ढंगले काम गरेपनि त्यसको प्रचार हुन नसकेको उनको गुनासो छ ।
उपमेयरकी उम्मेदवार सिता कार्कीले आन्तरिक मनमुटाबका कारण चुनावमा हार भएको उल्लेख गर्दै कारबाही भन्दा आपसी मेलमिलाप कामय गरेर अगाडि बढ्दा पार्टीको हित हुने राय व्यक्त गरिन् ।
कांग्रेस जिल्ला सदस्य बीरबल थापाले चुनावमा एकपटक हार विहोर्दैमा पार्टीले खुट्टा कमाउन नहुने बताए । उर्लाबारी नगरपालिका एमाले भर्तिकेन्द्रको रूपमा विकसित हुँदैगएको उनको आरोप छ ।
कांग्रेस मोरङ निर्वाचन क्षेत्र नं.१ ‘क’ का सभापति तथा उर्लाबारी–९ का नवनिर्बाचित वडाध्यक्ष नरबहादुर मोक्तानले कांग्रेस हारको कारण अन्तरघात नै भएको दाबी गरे । ‘कार्यकर्ताहरु पार्टीको सबै कार्यक्रममा जाने, सँगसँगै बसेर काम गर्ने तर भोट चाँही अर्कैलाई दिने ? ’, उनले भने । अन्तरघात गर्नेलाई सशक्त ढंगले कारबाही गरेर मंसिर ४ गतेको चुनावका लागि अगाडि बढ्नु पर्ने उनको भनाई छ ।
उर्लाबारी–४ का नवनिर्बाचित वडाध्यक्ष कल्याण राईले आत्मा आलोचना गरेर एक जुट भएर आगामी निर्बाचनमा जान सके जीत सुनिश्चित हुने बताए ।
नगर सभापति सुरेन्द्र लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्बाचित जनप्रतिनिधि तथा वडा सभापतिहरुलाई सम्मान गरिएको थियो । गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयरसहित उर्लाबारी–१,३,५,७ र ८ को वडाध्यक्षमा कांग्रेसले हारेको थियो । उर्लाबारी–२,४,६ र ९ को वडाध्यक्षमा भने कांग्रेसले जितको थियो । उर्लाबारी–६ र ९ मा कांग्रेसको प्यानल नै विजयी भएको थियो ।