उर्लाबारी, २१ साउन/वर्तमान समयमा नेपालको अर्थतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको अर्थविदहरुले बताएका छन् । यदी अर्थतन्त्र नसुधारे नेपालको अवस्था नाजुक हुने उनीहरुले चेतावनी दिएका छन् ।
उर्लाबारी उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले व्यापार घाटा कम नगरे नेपालको हालत श्रीलंका जस्तै हुने बताएका छन् । ‘नेपालको मुद्रास्फिती साढे आठ दशमलब पुगेको छ’, सप्तकोशी डेभलपमेण्ट बैंकका अध्यक्ष तथा अर्थशास्त्रका प्राध्यापक अर्जुन बरालले भने, ‘यसलाई नियन्त्रण नगरे देशको अर्थतन्त्र धरायशी हुनेछ ।’
नेपालको व्यापार घाटा १७ खर्ब, २० अर्ब ४१ करोड रहेको जानकारी दिँदै बरालले भने, ‘कृषि उत्पादन गरी त्यसलाई निर्यात गर्न सकेमा ब्यापार घाटा कम गर्न सकिने छ ।’ कृषि, उद्योग र सेवा क्षेत्रको विकास गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिने उनको भनाई छ ।
सोही बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेलले भने अलि फरक मत राखेका छन् । उनले रेमिट्यान्सले धानेको देश भएकोले नेपालको अर्थतन्त्र खस्किएपनि श्रीलंकाको जस्तो खराब हालतमा नपुगिने बताए । ‘ब्यापार घाटा भइरहेपनि आर्थिक दुर्घटना भइहालेपनि नेपाल श्रीलंका जस्तो हुँदैन ।’, उनले भने । आगामी निर्वाचनमा पुंजी बजारमा आउने भएकोले पुस महिनादेखि आर्थिक तरलता अभावमा कमी आउने उनको दाबी थियो ।
संघका निवर्तमान अध्यक्ष प्रितम खड्गीेले आम ब्यापारीको समस्याका बारेमा उल्लेख गर्दै यसखाले कार्यक्रमबाट बैंकले प्रवाह गर्ने कर्जाका बारेमा जानकारी भएको बताए ।
संघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन महासचिव हेमराज गुरुङले गरेका थिए ।