२०८२ जेष्ठ ७, मंगलवार

चलचित्र विकास बोर्डमा भुवन केसी नियुक्त

२०७९ श्रावण १०, मंगलवार
पढ्ने समय : 2 मिनेट

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अभिनेता भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो। विगत ४० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल केसीले ‘जुनी’ चलचित्रबाट चलचित्र यात्रा सुरु गरेका हुन्। २३ वर्षको उमेरदेखि चलचित्र क्षेत्रसँग जोडिएका उनले त्यसपछि सम्झना, कुसुमे रुमाल, सन्तान, तिलहरी, कन्यादान, चिनो, रुमाल जस्ता चर्चित चलचित्रमा अभिनय गरे ।

“म जागिर खानको लागि आएको होइन, चलचित्र क्षेत्रलाई जीवन्तता दिने कोसिसमा आएको हुँ,” केसी भन्छन्, “चलचित्र क्षेत्रको एकदमै अपार सम्भावना छ, हामीसँग धेरै प्रतिभा र सिर्जना छन्। यसको संरक्षण र प्रवद्र्धन गर्ने काम संस्थागत रुपमा चलचित्र विकास बोर्डले गर्छ।”

यस्तै, नेपालको चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने अभिनेता केसीको लक्ष्य छ। त्यसै अनुरुप कार्ययोजना बनाएर काम गर्ने उनको भनाइ छ। केसीले आफूप्रति  सद्भाव देखाउने माया गर्ने सम्पूर्ण मान्यजन र शुभचिन्तकप्रति आभार व्यक्त गरे ।

काठमाडौंको सिनामंगलमा जन्मिएका केलीलाई कलाकार बन्नेबाहेक अरु रहर नै थिएन। १० वर्षको उमेरमै बाल कलाकारको रुपमा केसी रेडियो नेपालमा गीत गाउंथे। यहाँबाट केसीको कला यात्रा सुरु भएको हो। उनले रेडियो नेपालमा गाएका पहिलो गीत हो, ‘मादल बज्यो घिन्ताङ तालैमा’।

जउनले जीवनका तीतामिठा सबै पल चलचित्र क्षेत्रमै बिताएका छन्।  “मैले एक सय वटा भन्दा बढी चलचित्रमा अभिनय गरेको छु। मैले अभिनय गरेका अधिकांश चलचित्र सुपर हिट भएका छन्, जुन हामी नेपालीको लागि गर्वको विषय हो।”, उनले भने ।

नेपालको सिनेमा हलको पहुँच र अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृति चलचित्र र मौलिकता फैलाउने पहिलो उद्देश्य रहेको अभिनेता केसीले बताए ।

“नेपालमा कलाकारले सिक्नका लागि फिल्म स्टुडियो बनाउन जरुरी छ। जसको सहयोगले विदेशी चलचित्र पनि नेपालमा सजिलै छायांकन गर्न सकिन्छ”, केसी भन्छन्, “स्टुडियोको सहयोगले उपकरण, ल्याबको पोस्ट प्रोडक्सनका काम गर्न सजिलो हुन्छ। अहिले पनि नभएको होइन। तर, अन्तर्राष्ट्रिय स्तरको हुनपर्छ।”

नेपालको पहिलो म्युजिक भिडियो खेल्ने अभिनेताको रुपमा पनि केसी परिचित छन्। जसको गायक र अभिनेता केसी नै हुन्। ‘मायालु तिमी टाढा भइदिनाले’ बोलको गीत उनको पहिलो म्युजिक भिडियो हो।  नेपाली सिनेमालाई विदेशमा पनि फैलाउने केसीकै पहिलो प्रयास थियो। उनी आफैंले निर्माण गरेको चलचित्र ‘करोडपति’ अमेरिका, जापान, स्वीट्जरल्याण्ड, जर्मनी, फ्रान्समा प्रदर्शन गरिएको थियो।

यस्तै, केसी ‘बेस्ट एक्टर’, ‘बेस्ट फिल्म मेकर’ जस्ता कयौं पुरस्कारबाट सम्मानित भएका छन्। बाल कलाकार, अभिनेतादेखि निर्मातासम्मको यात्रामा धरै कुरा सिक्ने मौका मिलेको केसी बताउंछन्। केसीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘ड्रिम्स’ हो।

जीवनको अन्तिम समयसम्म चलचित्र क्षेत्रमै लाग्ने केसी बताउंछन्। यसबाहेक, नेपालको कला, संस्कृति, भेषभुषा र पर्यटनलाई बढाउने उद्देश्यसहित विकास बोर्डको यात्रा सुरुभएको उनको भनाइ छ। विकास बोर्डमा आवेदन दिएका सम्पूर्णको मनोभावनालाई समेटेर, सम्पूर्ण नेपाली जनता, चलचित्रकर्मी, कलाकर्मी भावनालाई सम्झेर अगाडि बढ्ने उनले बताए।

विकास बोर्डले केहीदिन अघि अध्यक्ष पदका लागि १० जनाको सूची सार्वजनिक गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो। १० जनामध्येबाट सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार