उर्लाबारी, २४ असार/नेपाल–चीन सीमामा रहेको रसुवाको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये नौ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन प्रहरी र छ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गापा–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गापा–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नपा–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् ।
बाढीमा परी ६ जना चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् । उनीहरु सबै पुरुष हुन् । चिनियाँ नागरिकको विस्तृत पहिचान खुल्न बाँकी छ । बाढीमै परी बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू र ३० वर्षीय सुरेश थारू तथा बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्वा लामा, हाइलक्स जिप चालक गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता भएका छन् ।
बाढीले उत्तरगया गापा–१ मैलुङस्थित गल्छी बेत्रावती–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत त्रिशूली नदीमा रहेको ‘बेलीब्रिज’ बगाएको छ । सो स्थान नजिकै भर्खर निर्माण भएको पक्की पुलमा बाढीले लेदो माटो जम्मा भएको छ । त्रिशूली थ्रिए जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ । बिहान साढे ४ बजे भन्सार यार्डमा काम गर्ने छ जना स्थानीय कामदार, एक जना चिनियाँ र उद्धारमा संलग्न हुने क्रममा फसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका एकएक जनालाई डोरीको सहायताबाट उद्धार गरिएको थियो । टिमुरेमा रहेको विद्युतीय गाडी ‘चार्जिङ स्टेसन’लाई पनि बाढीले क्षति पु¥याएको छ । सो चार्जिङ स्टेसनमा रहेका करिब सातआठवटा विद्युतीय गाडी बगाएको छ । भन्सार कार्यालय रसुवाको यार्डमा रहेका करिब आठनौवटा सामानसहितका कन्टेनर र डिब्बा बगाएको छ । रसुवागढी हाइड्रोपावरको बाँधमा पनि क्षति पुगेको सहप्रवक्ता थापाले जानकारी दिए ।





