
पेल्टीमारी (इलाम), १ असार/इलाम, चुलाचुलीका वासिन्दा लामोसमयदेखि प्रशासनिक कामका लागि सास्ती भोगीरहेका छन् । मालपोत, नापी र नागरिकतासम्बन्धी कामका लागि आधा दिनको मोटरबाटो जानुपर्ने यहाँका वासिन्दालाई वाध्यता छ ।
‘लामोसमयदेखि हामीले प्रयास गरिरहेका छौं’, गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ भन्छन्, ‘तर यहाँबाट निर्वाचित सांसद र मन्त्रीहरुले चासो नदिएकोले अहिलेसम्म काम भएको छैन ।’
चुलाचुलीका वासिन्दालाई प्रशासनिक कामका लागि झापाको केरखा, झिलझिले, बिर्तामोड र चारआली हुँदै इलाम पुग्नुपर्ने वाध्यता रहेकोले उनीहरुले सास्ती भोग्नु परिरहेको हो । विगतमा चुलाचुलीमा नापी र मालपोत कार्यालय सञ्चालन गर्ने भनेर चुनावी नारा बनाइयो, चुनाव पनि जिते, तर समस्या जस्ताको त्यस्तै छ ।
उक्त क्षेत्रबाट विगतमा स्व.सुवास नेम्वाङले तीनपटक र स्व.केवी गुरुङले एकपटक चुनाव जितेका थिए । नेम्वाङ प्रतिनिधि सभाका सभामुख र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत बनेका थिए भने गुरुङ एकपटक शिक्षा र एकपटक स्वास्थ्य मन्त्री बनेका थिए ।
चुलाचुलीमा नापी, मालपोत र इलाका प्रशासन कार्यालय ल्याउन कार्यपालिका बैठकले निर्णय समेत गरेको र आफूले पहल गरिरहेको गाउँपालिका अध्यक्ष केरुङले बताए । नवनिर्वाचित संघीय सांसद सुहाङ नेम्वाङले समेत यस विषयमा पहल गर्ने आश्वास दिएको केरुङले बताए ।