
रूपेन्द्र शेर्मा
तीन दशकदेखि नेपालमा शरणार्थी जीवन विताइरहेका भुटानीहरुका अभिभावक डा.भम्पा राईको आइतबार निधन भएको छ । ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेट जाँदा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । तीनवर्षअघि आन्द्राको शल्यक्रिया गराएका डा.राई एक दशकदेखि कलेजो सम्बन्धी रोगबाट ग्रसीत थिए ।
यस दुःखद घटनासँगै भुटानी शरणार्थीहरुका लागि एउटा उज्जवल नक्षत्रको अवसान भएको छ । उनी भुटानी शरणार्थीहरु माझ एउटा उज्जवल अमर रत्न हुन्, जो आफ्नो निष्ठा र स्वभिवानमा कहिल्यै विचलित भएनन् । जसको योगदानलाई भुटानी शरणार्थीहरुले मात्र होइन आम दमकवासीले कहिल्यै विर्सन सक्दैन ।
एउटा वरिष्ठ चिरफार विशेषज्ञको हैसियतमा डा.राईले जति आम्दानी गरे, ती सबै रकम भुटानी शरणार्थीहरुको गास, वास र कपासको निम्ति खर्च गरे । यतीसम्मकी आफूसँग भएको पैसाले विपन्न गैह्र शरणार्थीहरुको लागि समेत उनले खर्च गरे । निसन्तान डा.भम्पा राईले आफ्नो विवेक र क्षमताले भ्याएसम्म शरणार्थीहरुको जीवन निर्वाहमा भरपुर सहयोग गरे । उनले व्यक्तिगत सम्पति कहिल्यै जोडेनन् । त्यसैले केही वर्षअघि आन्द्राको शल्यक्रिया गर्दा समेत वेखर्ची भएका डा.राईको उपचारार्थ नेपाल सरकारबाट सहयोग लिनुपर्यो ।
लामोसमयदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा.राईको निधनसँगै अब भूटानी शरणार्थीहरुको स्वदेश फर्कने सपनामा तुषारापात भएको छ ।
भुटानमा रहँदा त्यहाँका राजपरिवारका निजी चिकित्सक रहेका डा.राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उनीपनि शरणार्थीका रुपमा नेपाल आएका थिए । डा. राईले एक लाख बढी भुटानी शरणार्थीहरुको गास, वास र कपासको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग सहयोगको पहल गरेका थिए । डा.राईले नै शरणार्थी सम्बन्धी राष्ट्रिय संघीय उच्च आयोगलाई भूटानी शरणार्थीको गास, वास, कपासको जिम्मेवारीका लागि राजी गराएका थिए ।
शरणार्थी समस्या समधानका लागि तेस्रो मुलुक पुनर्वास कार्यक्रम सफल भए पनि डा.राईले त्यसलाई स्वीकार गरेनन् । डा.राईले आफू बाँचुञ्जेल भूटान फर्कन पाउनु पर्ने अडान लिइरहे । तर, उनको त्यो अडान र सपना सफल हुन सकेन ।