२०८१ श्रावण ६, आईतवार

चुनाव जित्नेमा लालकृष्ण ढुक्क

२०७९ बैशाख १८, आईतवार
पढ्ने समय : 2 मिनेट
दिपक वास्तोला
ताप्लेजुङ, १८ वैशाख/अन्यत्र झै ताप्लेजुङको श्रीजंगा गाउँपालिकामा पनि स्थानीय चुनावको रौनकता छाएको छ । सम्भावित हारजितलाई लिएर उम्मेद्वारहरु बीच जोडघटाउँ चलिरहँदा लालकृष्ण चौहान भने आफ्नो जितप्रति निश्चिन्त छन् । भन्छन् ‘म पार्टीको कार्यकर्ता भएर मात्र होइन, सामाजिक कार्यमा जोडिएको सामान्य मान्छे हुँ । सबै पार्टीका कार्यकर्ता र नागरिकसँग नजिकको सम्बन्ध बनाएको छु । हिजोपनि मलाई सबैको विश्वास जितेको थिए, फेरिपनि जित्ने नै छु ।
आम नागरिकका समस्या समाधान गर्ने सवालमा अर्को उपयुक्त मान्छे नभएकाले मै विकल्प हुँ ।’ चौहान श्रीजङ्गा गाउपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार हुन् । राजनीतिक सुझबुझ भएका मात्र होइन सामाजिक काममा पनि उतिक्कै भिजेका कारण चौहानप्रति जनसमुदायको एक खालको भरोसा देखिएको बुझ्न सकिन्छ । २०३२ साल बैशाख १० गते ताप्लेजुङको आम्बेगुदिनमा बुवा दलबहादुर र आमा पदममाया चौहानको छोराको रुपमा जन्मेका चौहान कांग्रेसका स्वच्छ छवि भएका नेतामा पर्छन् । कांग्रेसको श्रीजंगा गाउँ कार्य समिति सभापतिको जिम्मेवारीमा रहेका उनी यस अघि कांग्रेसको श्रीजंगा गाउपालिकामा वडा न्ं २ का अध्यक्ष हुन्। शालिन र प्रष्ट बोल्ने व्यक्तिका रुपमा चिन्निछन् । उनको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलन पश्चात सुरु भएको थियो । ०६२–६३ सालको
जनआन्दोलनमा ताप्लेजुङमै रहेर नेतृत्वदायी भुमिका निर्वाह गरेका चौहान पार्टीका पक्षमा जनउभार ल्याउने कलामा पोख्त मानिन्छन् । ०६४ को संविधानसभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसले जताततै पराजय भोग्दै गर्दा ताप्लेजुङ १ मा विजयको झण्डा फहराउन सफल बन्यो । नेता सुर्यमान गुरुङले शानदार मत ल्याएर जित हात पारे । गुरुङको जितमा कांग्रेसजनहरु चौहानलाई नै श्रेय दिन्छन् । २०४९ सालको स्थानीय चुनाबमै वडाध्यक्ष जितेका चौहान जनप्रतिनिधिका रुपमा ‘ह्याट्रिक’ गर्ने सुरमा छन् । अब विजयी हुँदा उनले तेस्रो पटक जनप्रतिनिधि हुनुको अनुभव बटुल्ने छन् । व्यक्तिगत रुपमै उनले धेरै योगदान गरेका छन् । घरबार विहीनका लागि ५ रोपनी जग्गा निशुल्क वितरण गरेका छन् । वडा कार्यलय भवनलाइ २ रोपनी,स्वास्थ्य चौकी भवनलाइ २ रोपनी, वर्थिङ सेन्टर भवनलाइ २ रोपनी, महिला भवनलाइ १ रोपनी जग्गा र सहकारी सस्था भवनलाइ ८ आना जग्गा निशुल्क प्रदान गरेर सामाजिक हितमा उनले स्तुत्य कार्य गरेका छन् ।
वडाध्यक्षका रुपमा गरेका चर्चायोग्य कामहरु यसप्रकार छन्ः नमुना वर्थिन सेन्टरको स्थापना ,नमुना स्वास्थ्य चौकी निर्माण , सिचाइको लागि बृहत योजनाहरु, घर – घरमा खानेपानी वितरण ,धार्मिक तथा ऐतिहासिक मठमन्दिरहरुको पुनर्संरचना ,खेलकुदको लागि वडामा खेल मैदान निर्माण ,शिक्षामा क्षेत्र सुधारको लागि छात्रवृत्तिसगै जेहेन्दार विद्यार्थीलाई सम्पुर्ण खर्च वडाले व्यहोर्ने परिपाटीको निर्माण ,कृषिमा उल्लेख्य योगदान, प्रहरी चौकि भवन निर्माण, वडा कार्यालय भवन निर्माण ,विद्यालयका भवनहरु निर्माण ,वडाका सबै बाटोहरु सम्पन्न ,गाउँगाउँमा विद्युत विस्तारलगायतका कार्यहरु सम्पन्न भएका छन् । आफ्नो कार्यसम्पादन र योगदानबाट स्थानीय प्रभावित हुनु नै जित्ने आधार रहेको चौहान बताउछन् । भन्छन्, ‘आफु भ्रष्टाचार गर्दिनँ, अरुका अनियमिततापनि उजागर गर्छु, मेरा बारमा जनतासंग कुनै भ्रम छैन, मैले नजित्नुपर्ने कारणपनि छैन ।’
Seen by तेजन खड्का at March 10, 2022 at 12:27 AM

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार