देशमा व्याप्त बेथिति र कुशासनको पीडा सहन गर्न नसकेर, गरिखान नपाएर लाखौं युवाले रूँदैरूँदै यो देश छाडेर पलायन भएका छन्। ती युवाका आँसुको श्राप दिनदिनै हामी भोगिरहेछौं।
ती आम युवाजस्तै पलायन हुन पनि सकिएको छैन, केही गर्न पनि सकिएको छैन।
देश बिगार्नेहरूको शक्तिशाली संगठन र गठबन्धन छ यहाँ। जो देशप्रति चिन्तित छन्, उनीहरू संगठित छैनन्। एक्लाएक्लै पीडा सहेर बसिरहेका छौं।
बिडम्बना कस्तो भने, बेथिति त भ्रष्टाचारले आफू, परिवार, समाज र सिंगो देश थिलथिलो बनेको छ भन्नेसम्म नबुझेर तिनकै पछि लागेको जमात ठूलो छ। समृद्धि र सुशासनको मुख्य चुनौती नै यही हो।
अधिकांश राजनीतिकर्मी, सुरक्षाकर्मी, निजामति कर्मचारी, न्यायकर्मी आदिको विचौलिया, तस्कर र अपराधिक गिरोहसँग साँठगाँठ छ। यसलाई भत्काउन निकै ठूलो शक्ति र विचारको डोजर चलाउनु जरूरी छ।
यही बाध्यात्मक अवस्थामा कुशासनको जरा उखेल्ने डोजरको ड्राइभर बन्ने प्रेरणाले अघि बढेको हुँ म। यस अभियानमा मजस्तै साथीहरूको अपार साथ मलाई प्राप्त छ।
प्रहरी सेवा यस्तो पेसा हो जहाँ कसैले नदेखेको पीडा देख्नुपर्छ। कसैले नझेलेको अप्ठ्यारो झेल्नु र्छ। कसैले नगरेको र कानुनले नतोकेको काम पनि गर्नुपर्छ। सबै निकाय धाउँदा पनि पार नलागेको समस्या समाधानको अपेक्षा गरेर प्रहरीकहाँ आउँछन् मान्छेहरू।
प्रहरीमा मैले २९ वर्षे सेवा अवधिमा जनताका अनेक प्रकारका दुःखपीडा अनुभूत गरेँ। हरेक बिहान बिउँझिएदेखि नसुतुन्जेलसम्म आम मान्छेका पीडाले सताइरहन्थ्यो। कति रात त सुत्न पनि दिएनन्। जब रातमा निद्रा खुल्थ्यो, सामान्य नागरिकका असामान्य समस्याले फेरि निदाउनै दिन्थेनन्।
मान्छेहरू मैलाई सुनाउँथे- फलानो मुद्दामा पुलिसले यति खाएछ रे! फलानो सरूवामा यति खाएछ रे! फलानाको बढुवामा यति डिल भयो रे!
मानौं त्यो सब मैले नै गरेजस्तो। त्यो कुरा जसले गरे, उनीहरूलाई नै गएर भने हुने नि जस्तो पनि लाग्थ्यो।
तर अर्को मनले भन्थ्यो- विचराहरूको अपेक्षा र भरोशा मैप्रति छ कसलाई सुनाऊन्। यस्ता कुरा सुनिदिने पनि त कोही छैन!
सशस्त्र प्रहरी बलको आइजिपी बनाउने भाग फलानो नेताको, नेपाल प्रहरीको आइजिपी नियुक्त गर्ने जिम्मा फलानो नेताको, मुख्य सचिव फलानाको, सर्वोच्चको न्यायाधीश वा गभर्नरमा सबैको दाबी। मानौं, सबै सरकारी निकाय र संवैधानिक अंग तिनकै विर्ता हो। कान पाक्नेगरी यस्तै सुनिरहँदा, बिस्फोट वा डिप्रेसन नै पो हुन्छ कि जस्तो लाग्थ्यो।
कानुन कार्यान्वयनको निश्चित जिम्मेवारी बोकेको एउटा प्रहरीले आफ्नो जिम्मेवारीभन्दा बढी गर्न सक्ने केही थिएन। तर आफूले गर्न सक्नेमा न्याय हुने गरी काम गरेँ, यसमा सन्तुष्ट छु। सायद त्यही कारण होला, आफू बसेर सेवा गरेको जिल्लामा मप्रति धेरै भरोशा छ। आम नागरिकको उत्साहजनक साथ पाएको छु अहिले।
आम नागरिकको सामान्य र नैसर्गिक चाहना छ, उनीहरू जीवन निर्वाह र न्यायमा समानताको आशमा छन्- सम्पन्नहरूले थिचोमिचो नगरून्, नहेपून्। आफ्नै देशमा दोस्रो दर्जाको नागरिक बन्नु नपरोस्। पीडा बोकेर प्रहरी वा अदालतमा गुहार माग्न जाँदा झन् पीडित हुनु नपरोस्। कुनै काम लिएर कुनै सरकारी कार्यालय जाँदा सजिलो गरी काम होस्। कसैले वस्तुभाउ बेचेर घुस खुवाउनु नपरोस्। केही इलम गर्छु भनेर कम्पनी दर्ता गर्न जाँदा मन्त्रीदेखि कर्मचारीको बोलकबोलमा नपरियोस्।
तर यी सबै चाहना आकाशको फल आँखा तरी मरझैं भएको छ।
देशमै केही गर्छु, अर्काको देशमा जाँदिनँ भनेर बसेका युवा निराश भएर खुसुक्क भासिँदैछन् विदेशतिरै। दैनिक दुई जनाको जिन्दगी काठको बाकसमा बाँधिएर आउँछ। तिनका वृद्ध आमाबुवा, श्रीमती र छोराछोरी रोग र भोकले मर्न बाध्य छन्। तर तिनकै रेमिट्यान्सबाट चिल्ला गाडी चढ्नेहरू पेट दुख्दा मात्र पनि विकसित देशका महँगा अस्पताल पुग्छन्।
स्थानीय चुनाव अहिले सँघारमा छ। जनताको नाममा लोकप्रिय घोषणापत्र जारी गर्ने होडबाजी चल्यो। हामी जनताका लागि आजसम्म केही नगर्नेहरूबाट केही हुने आश गर्न विवश छन् आम नागरिक फेरि एकपल्ट।
वर्षौंदेखि जरा गाडेको बेथिति, विसंगति र कुशासनको पीडा सहन नसकेर जुर्मुराएर नेपाल सुशासन पार्टीमा आउने साथीहरूको लर्को लामै छ। यी पनि उस्तै हुने हुन् कि, पर्खौं, हेरौं र विश्वास लाग्दा रहेछन् भने समर्पित हौंला भन्नेहरूको जमात पनि ठूलै छ। भविष्य नै नभएको पार्टीमा किन जाने भन्नेहरूको समूह पनि ठूलै छ।
राजनीति प्रहरीमा कमान्ड सम्हालेजस्तो छैन भन्ने तीखा प्रतिक्रियाहरू पनि झेलिरहेको छु। ती प्रतिक्रिया सत्य रहेछन् भन्ने पनि लाग्दैछ। चेन अफ कमान्ड र सरकारले दिने स्रोत साधनमा कार्य सम्पादन गर्नु र विभिन्न विचार अनि क्षमताका साथीहरूसँग एक मत गरेर जानु फरक कुरा रहेछ। विविधताका बाबजुद एकमत, एक पाइला गर्दै हिँड्दा आनन्द आउँदो रहेछ।
गत वैशाख ३ गते रक्तदान गर्नुपर्यो भनेर लाइनमा बसेँ। प्रेसर नापेपछि ‘तपाईंले रक्तदान गर्न मिल्दैन’ भन्नुभयो स्वास्थ्यकर्मीले।
मनमनै हाँसे, प्रहरी जीवनको जस्तो सजिलो रहेनछ पार्टी चलाउन। समय र खानपानको उचित व्यवस्थापन नहुँदा र दिनभरको घामले बढेको रहेछ प्रेसर।
अझ आर्थिक रूपमा पार्टी सञ्चालन गर्नु परिवार सञ्चालनजस्तो सहज पनि रहेनछ। पेन्सन मात्रको भरले परिवारको जीवन सञ्चालन र छोराछोरीको शिक्षा यसै कठिन छँदैछ, त्यसमा पार्टी जोडिएर आएको छ। आफू आत्मनिर्भर भएर देश सेवा गर्ने हाम्रो घोषणा पत्रमै उल्लेख छ। ऋणकै भरमा भए पनि केही व्यवसाय त गर्नैपर्ने बाध्यता आइपरेको छ।
पार्टीगत रूपमा अभावले सताइरहन्छ। तर पनि एकातिर परिवारको साथ छ अर्कातिर परिवारकै सदस्य जसरी अत्यन्तै माया गर्ने साथीहरू हुनुहुन्छ पार्टीमा।
‘बाबा, पछि नहट्नुहोला, गो अहेड’ भन्छिन् छोरी।
तिनको कुराले हौसला त प्राप्त हुन्छ, सँगै पीडा पनि थपिन्छ। मेरी छोरी आजका आम नेपाली छोराछोरीको प्रतिनिधि पात्र हुन्। उनीहरू आफ्नै देश बस्नलायक होस् भन्ने चाहन्छन् र त्यो आशा आफ्ना बाबुआमासँग गरिरहेका छन्। हामीले यो कुरा कति बुझेका छौं? हामी आफूले आफैंलाई सोध्नुपर्ने प्रश्न हो यो।
हामीमध्ये धेरैले आफ्ना सन्तान र नेपाल आमाले सोध्ने प्रश्नको जवाफ दिन आफूलाई समर्पित गरिसकेका छौं। देशमा व्याप्त कुशासनको अन्त्य र समृद्धिका लागि एउटा व्यवहारिक योजनासहित पार्टी कमिटी बनेका केही जिल्लामा युवाहरूलाई नै अघि सारेका छौं।
हामीसँग नागरिकलाई ‘ललीपप’ देखाउने, भ्रमित तुल्याउने र अन्त्यमा लोप्पा खुवाउने नारा केही छैनन्।
घोषणा पत्रको सारमा हामीले भनेका छौं- नागरिकलाई काम दिनुपर्छ कि माम दिनुपर्छ, भोकै पर्न दिनु हुँदैन। या त नागरिकको उपचार क्षमता बढाउनुपर्छ वा सरकारले उपचार गरिदिनुपर्छ, उपचार नपाएर नागरिक मर्नु हुँदैन। सीप र लगानी सहितको स्वरोजगार सिर्जना गर्नुपर्छ कोही बेरोजगार हुनु हुँदैन। विदेशमा रगत-पसिना बगाउने तर नेपालमा सास नआएर लास आउने दिनको अन्त्य गर्नुपर्छ।
थोरै लगानी र श्रम गरेर मनग्गे उत्पादन गर्न सकिने मौलिक र प्राकृतिक खेती तथा पशुपालनबाट निकै ठूलो आम्दानी गरेर निर्यात गर्न सकिन्छ। शिक्षामा व्यापक सुधार, गुणस्तरीय, रोजगारमूलक एवं मौलिक शिक्षा प्रदान गर्न स्थानीय जनप्रतिनिधिले सामुदायिक विद्यालय आफ्ना बालबालिकालाई अनिवार्य पढाउनै पर्छ भनेका छौं।
भ्रष्टाचार गरेर र देश र जनतालाई गरिब बनाउनु केही दल र तीसँग जोडिएका सबैको हकजस्तो भएको छ। हरेक कार्यालयमा हुने भ्रष्टाचार र अनियमितताको सही सूचना दिने नागरिकलाई उचित पुरस्कार प्रदान गर्ने र भ्रष्ट जनप्रतिनिधिलाई पार्टीले नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा जिम्मा लगाउने कबुल गरेका छौं।
सरकार र नागरिकबीच समान साझेदारीमा कृषि लगायत विभिन्न उत्पादन, व्यवसाय, उद्योग आदिमा लगानी प्रवर्द्धन गर्ने तथा खेलकुदको विकास र खेलाडी उत्पादनमा लगानी बढाउनेछौं भनेका छौं।
यी कुरा असम्भव र महत्वकांक्षी पक्कै होइनन्।
म स्वयं र नेपाल सुशासन पार्टी खुला किताब हो। आजको सामान्य गतिविधि सञ्चालनका लागि मासिक दुई लाख खर्च हुन्छ। विस्तारै खर्च बढ्दै जानेछ। आजसम्म एकापसमा र केही सहयोगीहरूको मुठी दानबाट चल्दैछौं। पार्टीका कर्मठ र निष्ठावान् साथीहरूको मेहनत र आशाले प्रेरित गरेको छ। ‘केपिटी’ अर्थात ‘कर्ण पोजिटिभ ट्रस्ट’ ले प्रेरित गरिरहन्छ।
जिल्ला भ्रमणतिर जाँदा कहिले कुन साथी त कहिले कुन साथीको गाडी चढ्छौं। साथीभाइकै घरमा पाहुना बन्दै हिँड्छौं। हाम्रा कोषाध्यक्ष यसरी पार्टी चल्छ र भन्नुहुन्छ। आत्मीय मित्रसँग त मुख खोल्न सक्दिनँ पैसा देऊ भनेर, अरूसँग कसरी मागौं! २९ वर्ष बानी नपरेको कुरा अब सम्भव छैन भनेर हाँसिदिन्छु।
आफ्नै सम्पत्ति बेचेर भए पनि पार्टी चलाऔं भन्नुहुन्छ कति साथीहरू। बेच्नु हुन्न भन्छु म। हामी भ्रष्टाचार गरेर सम्पत्ति जोड्नेखाले परेनौं। अनि भएको पुर्ख्यौली सम्पत्ति मासेर के खाने? बरू हाम्रा खेतबारीमा हामी आफैं कोदो रोपौं। सबैको राय मिल्छ।
कहिलेकाहीँ अनायस रातमा निद्रा खुल्छ। निकैबेर निदाउन नसक्दा मनमा कुरा आउँछन्। संस्थागत रूपमा गरिब छौं हामी। गरिब हुँदा कति पीडा हुन्छ, बुझिएको पनि छ। एउटा राजनीतिक दलका लागि यो सकारात्मक कुरा हो। गरिबीको पीडा नबुझ्दा नै त गरिब जनताले दुःख पाएका हुन्। एउटा गरिब परिवारको पेट पाल्न, बालबालिका पढाउन, बिरामी पर्दा उपचार खर्च जुटाउन कति तड्पिन्छ, जागिरको दौरानमा थुप्रै देखेको छु। त्यस्ता मानिसहरूको जीवनस्तर उकास्न आज आफू गरिबीको पीडा भोग्दैछु।
आज पार्टी गरिब छ। पार्टीको जीवन चलाउन कठिन भयो भनेर हार खाएँ भने ती विपन्न नागरिकका लागि कसले गर्छ? यस्तो सोच्दा झन् शक्ति प्राप्त हुन्छ। र केही न केही नयाँ योजना तर्जुमा गर्न मद्दत पुग्छ। राष्ट्रियता, सुशासन र समृद्धि निम्ति खाका कोर्न मन लाग्छ। मेरो साथसाथ हिँड्ने जोशिला युवा, अप्ठ्यारोमा पनि सँगै रहने सहकर्मी, अप्रत्यक्ष रूपमा हामी पनि साथमा छौं भन्ने शुभचिन्तकहरू सम्झनामा आउँछन्। सान्त्वना मिल्छ। आखिर धेरै वर्ष मैले दुःख गर्नु छैन, केबल बाटो बनाइदिए पुग्छ। बाँकी बोझ उनै युवाले उठाउने छन्।
प्रहरी सेवामा रहेर राम्रो गर्न सकेँ कि सकिनँ तर नराम्रो चाहिँ गरेको रहेनछु। सम्पन्न र विपन्न सबै मानिसहरूले अघि बढ्नुस् हामी छौं भनिरहनुभएको छ। हामी ‘क्राउड फन्डिङ’ बारे पनि सोचिरहेका छौं। कम्तीमा एक रूपैयाँसम्म सहयोग गर्न चाहने शुभचिन्तकका लागि हामीले प्रभु बैंक मुख्यालयमा नेपाल सुशासन पार्टीको खाता सार्वजनिक गरिसकेका छौं।
नागरिकका लागि नागरिककै पार्टी हो, नेपाल सुशासन पार्टी। तपाईंको सानो सहयोगबाट यो पार्टीले ठूलो नतिजा निकाल्न सक्नेछ। हामी कुनै भ्रष्ट, अपराधी वा तस्करबाट एक रूपैया पनि लिँदैनौं। हामी तपाईंहरूको विश्वासमाथि हात राखेर सपथ खान्छौं, हामी जिम्मेवारी, पारदर्शिता, उत्तरदायी, सहभागितामूलक र कानुनी राज्य स्थापनाका लागि कटिबद्ध छौं। यसमा धोका हुने छैन।
बरू हालसम्म देश लुट्दै आएका भ्रष्ट र बेइमानहरूको सम्पत्ति छानबिन गरी लुटेको धन राज्यकोषमा फिर्ता गरी तिनलाई कैद गर्नेछौं। त्यसमा आफ्ना बाबु हुन् वा छोराछोरी कसैले छुट पाउने छैन। यसका लागि हामीले हेक्का राख्नै पर्छ- असल मानिसको मौनताका कारण नै दुष्टहरूको मनपरी चलिरहने हो!
रमेश खरेल