२०८१ भाद्र २४, सोमबार

गोरिल्लाको ६५ औं जन्मदिन मनाइयो

२०७९ बैशाख ३, शनिबार
पढ्ने समय : 2 मिनेट

सामन्यतः प्राकृतिक अवस्थामा गोरिल्ला प्रजातिको औसत आयु ४० देखि ५० वर्षसम्मको हुने गर्छ । चिडियाखानामा राखिएका गोरिल्लाहरु औसत उमेरभन्दा बढी समय बाँच्छन् । पर्याप्त हेरचाह, खानेकुरा, नियमित स्वास्थ्य परीक्षण, रेखदेखले गर्दा उनीहरु प्राकृतिक अवस्थाका गोरिल्लाभन्दा बढी स्वस्थ्य हुन्छन् ।

जर्मनीको बर्लिनस्थित बर्लिन चिडियाखानामा राखिएको एउटा गोरिल्लाको उमेर ६५ वर्ष पुगेको छ । ‘फोटाउ’ नाम दिइएको यो गोरिल्लाको जन्मदिनको अवसर पारेर बर्लिन चिडियाखानाले विशेष केक बनाइदियो । उक्त केक दही,चामल,सब्जी, रास्पबेरिज र ब्लुबेरिजहरुबाट निर्मित रहेको बीबीसीले जनाएको छ ।

बर्लिन चिडियाघरमा एप्स प्रजाति हेर्दै आएकी क्रिस्टियन अस्टले भनिन्,’सामान्यतः प्राकृतिक अवस्थामा गोरिल्ला ४० वर्षसम्म बाँच्‍न सक्छन् । तर यो गोरिल्ला औसत उमेरभन्दा २० वर्ष धेरै बाँचेको हो । फोटाउ अहिलेसम्मकै धेरै उमेरसम्म बाँचेको गोरिल्ला हो । ‘

केमरुन ट्रोपिकल रेनफरेस्टमा पाइने यो प्रजातिको गोरिल्ला मध्य अफ्रिकन गणराज्य, ग्याबन र कंगोमा पाइन्छ ।

एप्स प्रजातिभित्र सबैभन्दा ठूलो जीवमा ‘गोरिल्ला’ पर्छ । गोरिल्लाको तौल २ सय केजीसम्म हुन्छ । दैनिक रुपमा यिनले १५ देखि २० केजीसम्मको खाना खान्छन् । यिनले खाने खानामा रुखको पात, घाँस, फलफूललगायत हुन्छन् ।

बर्लिन चिडियाखानामा राखिएको यो गोरिल्ला वेस्टर्न लो गोरिल्ला प्रजातिभित्र पर्छ । यो आईयूसीएनको ‘अति संकटापन्‍न’ जीवमा सूचिकृत छ । यी प्रजातिहरु संसारबाटै लोप हुने खतरामा छन् । प्राकृतिक अवस्थमा रोग, चोरीतस्करी र बासस्थान विनासका कारण यिनीहरुको संख्या घट्दै गएको छ ।

फोटाउको जन्म सन् १९५७मा भएको अनुमान छ । यो पोथी गोरिल्लालाई पश्चिमी अफ्रिकाबाट फ्रान्समा सन् १९५९मा एक नाविक(सेलर)ले ल्याएका थिए । त्यसपछि यो गोरिल्लालाई जर्मनीको बर्लिन चिडियाघरमा राखिएको थियो । सन् १९७४ मा फोटाउले बच्चा जन्माएकी थिई । अहिले फोटाउको २ जना नाती, १३ जना पनाती र १६ वटा जनाती छन् । तीमध्ये ६ जना पनाती र १० जना जनाती अहिले पनि जिवित रहेको बर्लिन चिडियाखानाले जनाएको छ ।

फोटाउ अघि ‘कोलो’ नाम गरेकी गोरिल्ला सन् १९५६मा जन्मिएको थिई । कोलोको मृत्यु ६० वर्षको उमेरमा सन् २०१७मा भएको थियो । यस्तै, सन् २०१९मा अमेरिकामा ‘ट्रुडी’ नाम गरेकी गोरिल्लाको ६३ वर्षको उमेरमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार