२०८१ माघ २९, मंगलवार

फेरि किन टिकेन नेप्सेको हरियाली ?

२०७८ चैत्र १८, शुक्रबार
पढ्ने समय : 2 मिनेट

अघिल्लो दिन रौनक देखिएको नेप्से सूचक बिहीबार कायम रहन सकेन । थोरै बढ्ने बित्तिकै ट्रेडर हावी हुने प्रवृत्तिले फेरि निरन्तरता पाइहाल्यो । फलस्वरुपः बिहीबार नेप्से सूचक २३.९५ अंकले घटेको छ । १ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । सूचकको गिरावटसँगै कारोबार रकम (टर्नओभर) पनि ड्राइ भएको छ । लामो समयदेखि बजार करेक्सन फेजमा छ ।

आम लगानीकर्ताहरुमा राम्रो –यार्ली आउँछ भन्नेमा अझै पूर्णविश्वास देखिन सकेको छैन । लगानीकर्ताहरुको मनोबल कमजोर भएकाले बजार थोरै बढ्ने बित्तिकै बिक्रेताहरु हावी हुने गरेका छन् । सोही कारण नेप्सेको वृद्धिले निरन्तरता पाउन नसकेको विश्लेषकहरु बताउँछन् । बजार साइडवेजमा जानुको प्रमुख कारण भने वित्तीय प्रणालीमा तरलता अभाव र चर्को ब्याजदर नै हो ।

बजार प्रभावित पार्ने अर्को फ्याक्टर केन्द्रीय बैंकको पुँजी बजार विरोधी नीति नियमहरु पनि हुन् । जसरी पनि कस्ने केन्द्रीय बैंकको नीतिको सिकार सेयर बजार भइरहेको छ । सेयर धितो कर्जामा ४–१२ करोडको सीमा, सेयर धितो कर्जामा जोखिम भार वृद्धि लगायतका कारण बजार बजार अप्ठेरोमा परेको हो । तथापि, पछिल्ला दिनहरुमा थपिएका लगानीकर्ताको संख्याले यी समस्याहरुलाई क्रमशः चिर्दै अघि बढ्ने अपेक्षा गरिएको छ ।

किन भने डिम्याट खाता खोल्नेहरुको संख्या करिब ५१ लाख पुग्न लागिसकेको छ । दैनिक एक्टिभ अनलाइन युजरको संख्या पनि १३ लाख हारहारीमा पुगिसकेको अवस्था छ । यी तथ्यहरुका कारण बजार खासै प्यानिक नहुने अनुभवीहरुको निष्कर्ष रहेको छ । केही समय बजार साइडवेजमा गए पनि फेरि विस्तारै लय लिने विश्लेषणहरु भइरहेका छन् ।

चैत आधाआधी बितिसकेको छ । अब चैतपछि विस्तारै सेयर बजारमा सिजन सुरु हुने अपेक्षा गरिन्छ । चैतपछि क्रमशः वित्तीय प्रणालीमा तरलता सहज हुँदै जाने गर्छ । वैशाख लागेपछि सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आउन थाल्छ । यस त्रैमासबाट कम्पनीहरुको वर्षभरिको कमाई र लाभांश अनुपातको समेत मोटामोटी आँकलन गर्न सकिन्छ । यसर्थ, सोही अनुसार लगानीकर्ताहरुले खरिदबिक्री रणनीति बनाउँछन् ।

बजारमा पनि क्रमशः चहलपहल बढ्ने अपेक्षा गरिन्छ । स्थानीय निकाय निर्वाचन पनि नजिकिंदैछ । निर्वाचनको माहोलमा बजारमा पर्याप्त पैसा आउने विश्लेषण गर्न सकिन्छ । अहिलेसम्म भने वित्तीय प्रणालीमा तरलता दबाब र चर्को ब्याजदरका कारण जतिसुकै गुड न्यूज आउँदा पनि बजारले अपेक्षाअनुसार सकारात्मक गति देखाउन नसकेको हो।

किनभने बिमा कम्पनीहरुको पुँजी वृद्धिको खबरले पनि खासै रौनकता ल्याउन सकेको छैन । यसको पछाडि तरलतामा परेको दबाबलाई नै प्रमुख कारण मानिएको छ । तथापि, बजारका जानकार र लगानीकर्ताहरुले भने यतिबेला सुस्त हिसाबले सेयरहरु अकुमुलेसन भइरहेको हुन सक्ने बताएका छन् ।

पुँजी वृद्धिको खबरलाई बजारले ढिलोचाँडो रेस्पोन्स गर्ने आम अपेक्षा रहेको छ । किन भने हाम्रो पुँजी बजारको इतिहास हेर्ने हो भने सधैंजसो नै पुँजी वृद्धिको खबरपछि नै बजारले ‘‘टप’ लगाएको छ । हरेक बुल रनलाई उचाईमा पुृर्याउने हतियार पनि हकप्रद सेयर नै भएको छ । अहिले तरलता अवस्था टाइट भएकाले मात्र बजारले तत्काल अपेक्षा अनुसार पोजेटिभ रेस्पोन्स देखाउन नसकेको विश्लेषणहरु भइरहेका छन् ।
हाम्रो बजार झन्डै ८ महिनायतादेखि करेक्सन फेजमा छ । यसमा बीचमा उतारचढावहरु भइरहे पनि यसअघि तय भएको ३२ सय विन्दुको उचाईलाई बजारले पार गर्न सकेको छैन । नयाँ बुल रन तयार हुनका लागि नेप्सेले यही ३२ सय विन्दुलाई पार गरेर माथि जानुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार