भुटानी नायिका उगेन छोडेन नेपाली फिल्म खेल्न अहिले काठमाण्डौ आइपुगेकी छन् । उनी वाल्यकालदेखि नै नेपाली फिल्मतर्फ आकर्षित भएकी हुन् ।
भुटानी नायिका उगेन छोडेनलाई सानोमा नेपाली फिल्म हेरेको घुरमैलो सम्झना छ। उनका आप्पा र आमाले भने भुटानमै नेपाली फिल्म हेर्न पाए। त्यतिबेला भुटानमा राजेश हमाल र भुवन केसीका फिल्म लाग्थे।
उगेन हुर्कँदै गर्दा भुटानमा नेपाली फिल्म प्रतिबन्ध भयो। अहिले भुटानमा विदेश फिल्म चल्दैनन्।भुटानको फिल्म बजार सानो छ। युट्युबमा नेपाली फिल्महरू राख्न थालिएपछि अहिले फेरि भुटानमा नेपाली फिल्म मन पराउनेको संख्या बढ्दो छ। उगेन पनि नेपाली फिल्मको फ्यान भइन्।
उगेन केही समय यता नेपालमा छिन्। निर्देशक दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘दुई नम्बरी’मा दयाहाङ राई, सौगात मल्ल र उनको मुख्य भूमिका रहेको छ।
निर्देशक लामासँग उगेनको चिनजान एउटा अन्तर्राष्ट्रिय फिल्म महोत्सवको दौरान भएको थियो। त्यसको एक वर्षपछि लामाले नै उनलाई फिल्मको प्रस्ताव राखे।
‘स्क्रिप्ट सुनेपछि म फिल्म खेल्न तयार भएँ’, उगेनले भनिन्, ‘मैले लामाले निर्देशन गरेको फिल्म हेरेकी थिएँ।’
उगेनले भुटानमा एक दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन्। नेपालमा फिल्म खेल्ने प्रस्ताव आएपछि उनको परिवारले पनि सहमति जनायो।
‘लकडाउनका कारण फिल्म खेल्न जानु तर कोभिड नलागोस् भनेर मात्र भन्नुभयो’, उनले भनिन्, ‘भुटानीहरू पनि विदेशमा फिल्म खेल्न जान लागेको थाहा पाएर खुसी छन्।’
भुटानी चलचित्रकर्मी पनि उगेनले नेपाली फिल्ममा अवसर पाएपछि हौसिएका छन्।
‘धेरैले भुटानी फिल्मलाई एक कदम अगाडि बढाएको भन्नुहुन्छ। अर्को देशमा गएर फिल्म खेल्दै आफ्नो उद्योगका लागि अवसरको ढोका खुलाएको भन्नुहुन्छ’, उनले भनिन्, ‘भविष्यमा नेपाली फिल्म निर्मातासँग सहकार्य गर्न सक्ने अपेक्षा उनीहरूको छ।’
भुटानमा निकै कम खर्चमा फिल्म बन्ने गरेको उगेनले बताइन्।
‘नेपाली फिल्म र बलिउड फिल्म फ्लप भए करोडौंमा घाटा लाग्छ’, उनले भनिन्, ‘तर भुटानमा त्यस्तो छैन।’
भुटानको राजधानी थिम्पुमा अहिले ४ वटा हल सञ्चालनमा रहेको उगेनले बताइन्।
‘भुटानमा धेरै फिल्म हल छैनन्। कहिलेकाहीँ गाँउका स्कुलहरूमा पनि फिल्म देखाउनुपर्छ’, उगेनले भनिन्, ‘सरकारले एक जिल्लामा दुई हल बनाउने तयारी गरिरहेको छ।’