लेटाङ ७ चैत/ मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा प्रहरीको हत्या गर्नुका साथै विद्यालय तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
सोमबार १२ जना पक्राउ परेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लताए। उनका अनुसार पक्राउ पर्नेको संख्या बढ्नेछ । घटनामा संलग्नहरुको खोजीकार्य जारी रहेको उनले बताए ।उनका अनुसार सोमबार लेटाङमा कर्फ्यू आदेशको उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएका १२ जना साँझ रिहा भएका छन् ।
कक्षा ७ मा पढ्ने बालिकामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग गर्दै आक्रोशित स्थानीयले प्रहरीमाथि आइतबार साँझ आक्रमण गरेको थियो ।
आइतबारको घटनापछि थप क्षति हुन नदिन स्थानीय प्रशासनले सोमबार बिहानदेखि अनिश्चितकालका लागि कर्फ्यू जारी गरेको थियो । सोमबार प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहितको टोलीले घटनाको स्थलगत अनुगमन गरेको थियो ।
ADVERTISEMENT