२०८१ माघ २९, मंगलवार

ब्लड क्यान्सरपीडित छोरी बचाउन काठमाडौंमा मजदुरी गरिरहेका दम्पती

२०७८ फाल्गुन २८, शनिबार
पढ्ने समय : 5 मिनेट

काठमाडौं२८ फागुन/महाराजगञ्जको सुकुम्बासी बस्ती । स–साना घर अनि साँघुरो गल्ली ।
त्यही गल्लीको छेउमा दुईतले घर ढलान भइरहेको छ । त्यही घरको ढलान गर्न बालुवा र सिमेन्ट बोकिरहेकी छन् कुमारी परियार । खुट्टामा कालो रंगको रातो तुना भएको घिसिएको चप्पल । बाँया चप्पलको तुना चुँडिएको छ ।विशठ्युँमा डोको अनि निधारमा पसिना । पिठ्युँको डोको सिमेन्टको हो जस्तो लाग्दैन उनलाई । त्यो डोको त दुःखमाथिको आशा हो उनका लागि ।
त्यही भारी बोक्ने निधार अनि काम गर्ने हात नै उनका आशाका किरण हुन् । डोकोसँग उनको वेदना र पीडा जोडिएको छ । ‘बालुवा सिमेन्टको मात्रै डोको बोकिरहेकी छैन म, योसँग छोरीको सास र जिन्दगी बोकिरहेको छु,’ ३२ वर्षीया कुमारी सुनाउँछिन् ।
डोको बोकेर माथि उक्लिन निकै गाह्रो भइरहेको थियो उनलाई । ‘बिचरी कहिल्यै यस्तो काम नगरेकी होली निकै गाह्रो गरी बोक्दै छे,’ उनीसँग काम गरिरहेका सहकर्मी भन्दै थिए ।
उनलाई तलमाथि गर्न अरुभन्दा बढी समय लाग्दै थियो । दिनभर काम गरेपछि एक हजार रुपैयाँ पाइन्छ भनेर उनी काम गर्न आएकी हुन् । कसैले उनलाई घर ढलानमा काम गर्न आऊ भनेपछि त्यहाँ पुगेकी हुन् ।
‘काम नगरे त भोकै मरिन्छ । हामी त एक दुई छाक भोकै बस्न सक्छौं, तर छोरीलाई औषधि किन्नुपर्छ, खाना खुवाउनुपर्छ,’ कुमारीले मनको बह पोख्दै भनिन्, ‘यस्तो हालत देख्दा त किन मरिन जस्तो लाग्छ तर छोरीको मायाले मर्न सक्दिन ।’

उनकी सात वर्षीया छोरी युनिशालाई ब्लड क्यान्सर भएको छ । छोरी कोठामै छिन् । उनलाई महिनाको दुईपटकसम्म उपचारका लागि कान्ति बाल अस्पताल लैजानुपर्छ ।

छोरीको उपचारका लागि श्रीमान पेशलसहित उनी १६ महिनादेखि काठमाडौंमा छिन् । उनीहरुको घर भने ओखलढुंगा हो ।

युनिशालाई भेट्ने भन्दै हामी उनको कोठासम्म पुग्यौं । सुकुम्बासी बस्तीको खोला छेउको सानो खोला किनारमा छ उनको कोठा । टिनको छाप्रोको कोठाको मासिक ३५ सय रुपैयाँ भाडा तिर्नुपर्छ । जहाँ न सुरक्षित ढोका छ, न त पानी नै पाइन्छ ।

कोठामा पुग्दा पेशल पल्टिरहेका थिए भने युनिशा उनको छेउमा बसिरहेकी थिइन् । उनले ‘युनिशा’ भन्दै बोलाइन् । युनिशा आमाको आवाज सुनेर बाहिर आइन् । कुमारीले उनलाई काखमा राखिन् । यत्तिकैमा भित्रबाट पेशल पनि आइपुगे ।

ओखलढुङ्गा ठूलोछापका हुन् परियार दम्पती । युनिशा पाँच वर्षको हुँदा उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । हरेक दिन उनको शरीर सुक्दै गयो भने गाला फुक्दै । निको नभएपछि नभएपछि उनीहरुले युनिशालाई जिल्ला अस्पताल रुम्जाटार लगे ।

छोरीको सासका लागि भन्दै पेशल महाराजगञ्ज सडक छेउ मेसिन राख्छन् । फाटेका पुराना लुगा सिउँछन् । उनले जानेको काम नै यति नै हो । सर्दै गएको मेसिनको धागोसँग छोरीको नसामा रगत बगेको र छोरीको बिरामी निको भएको सपना बुन्छन् उनी
रुम्जाटार अस्पतालले युनिशाको मुटुमा पानी जमेको बताएपछि उनी झस्किए । आफन्त नातेदारबाट ऋण काढेर दुई महिना रुम्जाटार अस्पताल बसे । अस्पताल बस्दा ८० हजार रुपैयाँ खर्च भयो । तर पनि युनिशाको स्वास्थ्यमा सुधार आएन । स्वास्थ्यमा कुनै सुधार नआएपछि रुम्जाटार अस्पतालले परियार दम्पतीलाई युनिशालाई काठमाडौं लैजान भन्यो ।

उनीहरुसँग काठमाडौं आउन पनि पैसा थिएन । फेरि उनले ऋणका लागि चिनेजानेकालाई गुहार गरे । केही पैसाको जोहो भएपछि उनीहरु कान्ति बाल अस्पताल आइपुगे । छोरी युनिशाको उपचारका लागि उनीहरु काठमाडौं आएको यो दोस्रो पटक हो ।

तीन महिना कान्ति बाल अस्पतालमा उपचार गरेपछि युनिशाको स्वास्थ्यमा सुधार हुँदै गयो । तर खर्च सकिएर उनीहरुलाई काठमाडौमा खानबस्न समेत नसक्ने अवस्था आयो । ऋण काढेर ल्याएको पैसा सकिएपछि उनीहरु घर फर्किन बाध्य भए । अस्पताल प्रशासनले युनिशालाई पूर्ण रुपमा ठीक भइनसकेको र घर नजान आग्रह गरेपनि ओखलढुङ्गा फर्किनुबाहेक उनीहरुसँग अरु विकल्प थिएन ।

‘पहिले पैसा भएको भए अहिले छोरी ठीक भइसक्थिन्, हामीले यति दुःख पाउने थिएनौं । के गर्नु आफूसँग नभएपछि रोगभन्दा पैसा ठूलो हुने रहेछ,’ निन्याउरो मुख लगाउँदै उनले भनिन् ।

घर फर्किएको ६ महिनापछि युनिशाको स्वास्थ्य अवस्था बिग्रिन थाल्यो । फेरि गाला फुक्दै जाने र शरीर सुक्दै जाने हुन थाल्यो ।

छोरीलाई फेरि काठमाडौं ल्याउनुपर्ने भयो, तर पैसा थिएन । पैसाका लागि पेशलले गाउँघरमा धेरै चक्कर लगाए, तर पाएनन् । एक दिन उनकी जेठी श्रीमतीपट्टिकी छोरी आएर युनिशालाई हेरिन् । उनले बहिनी त अस्पताल नलगे बाँच्दिन जस्तो छ भनिन् ।

बाँच्दिन भन्ने शब्दले कुमारी र पेशलको ओठ सुक्यो, संसार नै अँध्यारो भएजस्तै भयो । केही सीप नलागेपछि उनीहरुले घरजग्गा धितो राखेर बैंकबाट दुई लाख रुपैयाँ ऋण लिए ।

देशलाई कोरोना महामारीले आक्रान्त पारेको थियो, यातायात बन्द थियो । तर छोरीको ज्यान बचाउन १८ हजारमा जीप भाडामा लिएर उनीहरु काठमाडौं हान्निए ।

जब उनीहरु दोस्रो पटक काठमाडौं आए, तब दुःखका दिन सुरु भए । ओखढुङ्गाको गरिब तथा दलित परिवारका परियार दम्पतीलाई उनीहरुको काम र जात हेरेर पनि गाउँलेले ऋण दिन मानेनन् । भएकाहरुले पनि तिर्न सक्दैन भनेर नाक खुम्च्याए ।

दोस्रो पटक काठमाडौं आएपछि उनले एक जनालाई बिन्ती गरेर सुकुम्बासी टोलमा टिनको छाप्रो भाडामा लिए । काठमाडौंमा कहाँ ३५ सय रुपैयाँमा कोठा पाइन्छ र ? टिनकै छाप्रो भएपनि सस्तो छ, अस्पताल आउन जान सजिलो हुन्छ लागेर उनीहरु छाप्रोमा बसे ।

‘छोरीको लागि जे जस्तो पनि काम गर्न तयार छु, तर काम नै पाइँदैन,’ पेशल भन्छन्, ‘रातको निन्द्रा र दिनको भोक सबै हराइसक्यो,’ पढेलेखेकी छैनन् कुमारीले । पढेलेखेको भए काठमाडौंमा काम पाउँथे कि जस्तो लाग्छ उनलाई ।

‘भनौं भने दुःखको रामकहानी छ, नभनौं भने मन मान्दैन,’ यति भन्दा कुमारीका आँखा रसाइसकेका थिए । छोरीको कपाल मुसार्दै उनी भक्कानिन थालिन् । छेउमा रहेका पेशलले उनलाई थमथमाउन खोजे । तैपनि उनका आँशु रोकिएनन् ।

‘सोच्दा त मुटु फुट्छ छाती चिरिन्छ, हामी त पूरै बर्बाद भइसक्यौं । भएको खेतबारी बैंकमा छ, छोरीको सास आशमा छ,’ रुँदै उनले अगाडि भनिन् ।

ओखलढुङ्गामा बनिबुतो गरेर गुजारा चलाउँदै आएका थिए पेशल । ठूलोछापमा सानो झुपडी थियो । दिनभर कपडा सिलाएर र गाउँमा अरुको काम गरेर परिवारको छाक टार्थे । गाउँमा जेनतेन गुजारा चलिरहेको थियो । तर दुःखले कहाँ छोड्छ र ? छोरी युनिशालाई ब्लड क्यान्सर भएपछि उनीहरुको दैनिकी नै मोडिएको हो ।

पेशलले तीन कक्षा मात्रै पढेका छन् । गाउँमा लुगा सिलाएर ५५ वर्षको उमेर पार गरेका उनलाई सहरबारे थाहा छैन । पढेलेखेका भए काठमाडौंमा काम पाइन्थ्यो होला भन्ने उनको पनि सोच छ । तर उनी उमेरले बुढ्यौलीतिर लम्किंदैछन् र काम पाउन पनि मुस्किल भएको छ ।

२०–२५ वर्षको अन्तर छ परियार दम्पतीबीच । काठमाडौमा टिक्नका लागि उनी कहिले यता कहिले उता भौतारिरहन्छन् । तर अन्तिममा पाइने र गर्न सक्ने भनेकै भारी बोक्नु र ज्याला मजदुरीको काम हो ।

छोरीको सासका लागि भन्दै पेशल महाराजगञ्ज सडक छेउ मेसिन राख्छन् । फाटेका पुराना लुगा सिउँछन् । उनले जानेको काम नै यति नै हो ।

सर्दै गएको मेसिनको धागोसँग छोरीको नसामा रगत बगेको र छोरीको बिरामी निको भएको सपना बुन्छन् उनी ।

कोठामा दाल चामल सकिएको छ । चामल नहुँदा दुई दिन भइसक्यो उनीहरु मकैको ढिंडोसँग टमाटरको छट्नी खाइरहेका छन् ।

‘म बुढो । सास रोकिने बेला भइसक्यो तर अझै पनि आश मारेको छैन, दाउरा चिरेर आएका उनले हातका ठेला देखाउँदै भने, ‘छोरी बचाउन सके, सासले पार पाउँथ्यो कि’ ।

क्यान्सरसँगै कुपोषण पनि भएको छ युनिशालाई । किनकि अभावले उनले चाहिनेजति पौष्टिक तत्व भएका खानेकुरा खान पाएकी छैनन् ।

युनिशाको उपचारमा संलग्न चिकित्सक डा. विष्णुरथ गिरीले युनिशाको स्वास्थयमा पहिलेभन्दा सुधार हुँदै गएको बताए । ‘आर्थिक अभावका कारण गरिब तथा विपन्न परिवारले क्यान्सरको उपचार हुने भएपनि गराउने आँट गर्दैनन्, युनिशालाई पहिलोपटक घर फिर्ता नलगेको भए यस्तो अवस्था आउने थिएन,’ डा. गिरी भन्छन् ।

‘समयमा उपचार नपाउँदा युनिशाको आँखा र मुखमा समस्या आएको छ, समयमै पूर्ण उपचार पाएको भए अहिले ऊ निको भइसक्थ्यो,’ उनले सुनाए । राज्यले बालबालिकाको क्यान्सर रोगलाई पूर्ण रुपमा निःशुल्क गर्न सके कसैले पनि अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआउने उनको तर्क छ ।

‘राज्यले सेवा सुविधामा दिएको एक लाखले मात्रै पुग्दैन,’ डा. गिरी भन्छन्, ‘उनीहरुको सम्पूर्ण उपचार खर्च र औषधि खर्च निःशुल्क गर्नुपर्छ ।’

डा. गिरी अगाडि भन्छन्, ‘क्यान्सरका ३० प्रतिशत बिरामी उपचार नै नगरी घर फर्किन्छन् । यसरी रोग पत्ता लागेपछि पनि घर फर्किनेहरुमा क्यान्सरबारे जनचेतनाको अभाव भएका, आर्थिक रुपले विपन्न परिवारका र क्यान्सर लागेपछि निको हुँदैन भन्ने मानसिकताका छन्,’ डा. गिरीले भने, ‘समयमै उपचार पाए बालबालिकामा देखिने क्यान्सर निको हुन्छ, तर उपचार नै नगराई घर फर्किंदा धेरै बालबालिकाले अकालमा ज्यान गुमाउनु परेको छ ।’

राज्यले युनिशाजस्ता क्यान्सरपीडित बालबालिकालाई अस्पतालसम्म आएर त्यत्तिकै घर नफर्किने वातावरण बनाउनुपर्ने डा. गिरी बताउँछन् । साथै क्यान्सर लागेका सबै बिरामीलाई अस्पतालसम्म ल्याउने वातावरण ल्याउनुपर्ने र निःशुल्क उपचारको प्रबन्ध राज्यले मिलाउनुपर्ने पनि उनी बताउँछन् ।

यति कुरामा व्यवस्थापन गर्नसके युनिशाजस्ता विपन्न परिवारका बालबालिकाले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउने उनी बताउँछन् । अनि आफ्ना सन्तानको उपचारका लागि गाउँबाट सहर आएर अभिभावकले हातमुख जोर्नकै लागि काम खोज्नुपर्ने बाध्यता पनि अन्त्य हुन सक्थ्यो ।

साभार : अनलाइनखबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार