तपाईंलाई घाँटीमा केही अड्केजस्तो हुन्छ ? जलन, खसखस, अनावश्यक खाकखुक हुन्छ ? केही निल्दा दुख्ने, मुखमा अमिलो पानी आउने, स्वर धोद्रो हुने हुन्छ ? हुन्छ भने, तपाईंलाई घाँटीको मात्र नभएर पेटको समस्यासमेत हुन सक्छ । यसको कारक ग्यास्ट्रोइसोफेगल रिफ्लेक्स डिजिज (जीईआरडी) हुन सक्छ, जसलाई सामान्य भाषामा एसिड रिफ्लेक्स वा एसिडिटी पनि भनिन्छ ।
सामान्यत: २० प्रतिशत घाँटीका रोगीहरूमा देखिने विभिन्न खाले समस्या थ्रोट प्रोब्लम नभएर एसिडिटीले गर्दा भएको हुन्छ,’ मेडिकेयर अस्पतालका पेट रोग विशेषज्ञ डा. प्रदीप यादव भन्छन्, ‘एसिडिटीले निमोनिया र खोकीसमेत विकसित हुन सक्छ ।’
एसिडिटी पुरुष र महिला सबैलाई उत्तिकै मात्रामा हुने गर्छ । विभिन्न चिकित्सकीय तथ्यपत्रहरूका अनुसार, हाल बालबालिका, किशोर र युवाहरूमा समेत यो समस्या पाउन थालिएको छ ।
द एसोसिएसन अफ पेडियाट्रिक ग्यास्ट्रोइन्टरोलोजी एन्ड न्युट्रिसन नर्सको तथ्यपत्र अनुसार, अमेरिकाका करिब १० प्रतिशत किशोरकिशोरी जीईआरडीबाट प्रभावित छन् ।
एसिडिटीले पीडितहरूको पेटमा समेत सामान्य व्यक्तिमा हुनेजतिकै एसिड हुने गर्छ । तर, यो एसिड पेटमै सीमित नरहेर अन्ननली (इसोफ्यागस) मा जान थालेपछि समस्या सुरु हुन्छ । एसिडिटीका कारण घाँटीमा केही अड्केजस्तो हुने, बिझाइरहेजस्तो लाग्ने, आवाज धोद्रो हुने, बोल्दा दुख्ने लगायतका समेत देखिन सक्ने उल्लेख गर्दै नाक कान घाँटी रोग विशेषज्ञ डा. तोरण केसी भन्छन्, ‘तपार्इंको घाँटीका विभिन्न लक्षण हेरेर यो एसिडिटीकै कारण भएको हो भनेर सतप्रतिशत किटान गर्न गाह्रो हुन्छ ।’
उनका अनुसार, नाक कान घाँटीका विशेषज्ञकहाँ एसिडिटीले गर्दा घाँटीको यस्ता समस्या लिएर आउनेहरूको संख्या कुल बिरामीको १० प्रतिशतजति हुन्छ ।
विज्ञहरूका अनुसार, पाचनतन्त्रको समस्याले गर्दासमेत घाँटीमा खसखस हुन सक्छ । सामान्य स्वस्थ व्यक्तिलाई रुघाखोकी नभए पनि खाना खाँदा घाँटी दुख्छ, पोल्छ, काँडा बिझाएझैँ लाग्छ, स्वर धोद्रो हुन्छ भने यसको कारण एसिड रिफ्लेक्स हुन सक्छ ।
अफिसमा घन्टौं बसेर काम गर्ने, अति बढी टेन्सन लिने, आत्तिने, छिटछिटो काम गर्नेहरूमा एसिडिटीले गर्दा हुने घाँटीको समस्या बढी पाएको अनुभव डा. केसीको छ । एसिडिटीले गर्दा कानमा पनि समस्या हुने गरेको छ ।
हाम्रो अन्ननलीभन्दा तल खानाको थैलो अर्थात् पेट हुन्छ । पाचनतन्त्रको नियमित प्रक्रिया अन्तर्गत यसको भित्री भित्तोबाट हाइड्रोक्लोरिक एसिड र पेप्सिनको स्राव भइरहन्छ । खाना पचाउने काम यही एसिडले गर्छ ।
‘यो एसिडको उत्पादन हाम्रो आवश्यकताभन्दा बढी हुन थाल्यो भने समस्या उत्पन्न हुन्छ,’ डा. यादव भन्छन्, ‘यस्तै लोअर इसोफ्यागियल स्फिङटर (एलईएस) मा समस्या भए पनि एसिड घाँटीसम्म पुग्ने गरेको छ ।’ पेटमा बनेको एसिड माथि गएर सासनलीमा पुगे खोकी, निमोनिया हुन सक्छ । आमाशय र अन्ननली जोडिने ठाउँमा भएको एउटा विशेष प्रकारको मांसपेशीलाई एलईएस भनिन्छ । आमाशय र अन्ननलीबीच भएको यो एउटा ढोकाजस्तै अंग हो, जुन खानपानको समयमा मात्र खुल्छ । हामीले खाने आहारा आमाशयमा पुग्नासाथ यो आफै बन्द हँुुदा आमाशयको एसिड अन्ननलीमा पुग्न पाउँदैन ।
‘कुनै कारणले गर्दा जब एलईएसको मांसपेशी कमजोर हुन्छ वा त्यसको खुम्चिने क्षमतामा कमी आउँछ, यस्तो समयमा आमाशयवाट हाइड्रोक्लोरिक एसिड र पेप्सिन अन्ननलीमा पुग्छ,’ डा. यादव भन्छन्, ‘यसै कारण अन्ननली सुन्निन्छ, जलन, घाउ लगायतका विभिन्न समस्या उत्पन्न हुन्छ ।’ विज्ञहरूका अनुसार, अति जटिल स्थितिमा भने खुकुलो भइसकेको एलईएसलाई शल्यक्रियाका माध्यमले टाइट गरिन्छ । यस्तै एसिडले अन्ननलीमा बढी क्षति पुर्याएको खण्डमा शल्यक्रिया पनि गर्नुपर्ने
हुन सक्छ ।
राम्ररी निदाउन नसक्ने, मद्यपान र धूमपान गर्ने, तारे/भुटेको बढी खाने, सुर्ती खाने, राति ढिलो खाने, चिया/कफी बढी खाने, सकारात्मक जीवनशैली नहुनेहरूमा एसिडिटीका कारण हुने घाँटीको समस्या बढी पाउने गरिएको प्रा.डा. केसी बताउँछन् ।
एसिडिटीको समस्या भएकाहरू रातमा सुत्दा दायाँ पाटो सुत्दा आराम मिल्ने भनाइ छ । सीधा वा कम्मरको बल सुत्दा आमाशयबाट एसिड पुन: फिर्ता भएर इसोफेगसमा पुगेर समस्या उत्पन्न गर्छ ।
‘टाउको तल सिरान राखेर सुत्नाले एसिडलाई इसोफ्यागसमा जानबाट रोक्न सकिन्छ तर यो प्रक्रिया युवाहरूको लागि ठिक भए पनि बूढापाकाहरूका लागि सहज छैन,’ डा. यादव भन्छन्, ‘बरु खाटको सिरानतिर भएको भागको तल ८ इन्चसम्म इँटा राखेर एकतर्फ उठाउनु फाइदाजनक हुन सक्छ ।’ यो समस्या बढ्दै गए अत्यन्त जटिल अवस्थामा फोक्सोको संक्रमण, निमोनिया, अन्ननलीको क्यान्सर आदि हुन सक्ने यादव बताउँछन् ।
सामान्य घरेलु उपचारले पनि निको नभए वा दुई सातासम्म निरन्तर यो समस्याले सताए विशेषज्ञ चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । तीन चार सातामा एकपटक एसिडिटी भए त्यो सामान्य मानिन्छ । तर, यसले दैनिकी बिगार्न थाले एकपटक चिकित्सकसँग सम्पर्क गर्नु आवश्यक हुन्छ । डा. यादवका अनुसार, यसको उपचार एन्टासिड, एच–२ ब्लोकर्स, प्रोटोन पम्प इन्हिविटर, प्रोकाइनेटिक आदिको माध्यमले गरिन्छ ।
जीवनशैली परिवर्तन
एसिडिटीलाई धेरै हदसम्म जीवशैलीको समस्यासमेत भन्ने गरिएको छ । अनुशासित र सकारात्मक जीवनको सहयोगले अम्लपित्तको समस्यालाई हटाउन सकिन्छ । यस अन्तर्गत ठिक समयमा खाना खानु, बढी समयसम्म भोको न बस्नु, एकपटक बढी खानुको सट्टा निश्चित समय अन्तरालमा अलि–अलि खानु आदि महत्त्वपूर्ण हुन्छन् ।
‘दिनमा तीनपटक खानुको सट्टा त्यही खानालाई बाँडेर पाँचपटक खाँदा राम्रो हुन्छ,’ डा.यादव भन्छन्, ‘राति खाना खाएपछि तुरुन्त न सुत्नुस् कम्तीमा सुत्नुभन्दा दुई तीन घन्टा पहिले खानु राम्रो हुन्छ ।’
मोटोपनाले यो समस्यालाई बढाउने भएकोले आफ्नो तौल सामान्य राख्न नियमित व्यायाम लगायतका पहल आवश्यक रहेको छ । यस्तै, कन्सटिपेसन भएकाहरूमा समेत एसिडिटीको समस्या देखिने गरिएको उल्लेख गर्दै खानामा रेसा भएको खाद्यपदार्थ, साग सब्जी, फलफूल लगायतका उपयुक्त खाद्यपदार्थ उपयोग गर्नुपर्ने डा.यादव बताउँछन् ।
सामान्यत: तपाईंले कुन खाद्यपदार्थ लिँदा समस्या अझ बढ्छ भन्ने स्व:पहिचान गरेर यसको उपयोगबाट बँच्ने प्रयास गर्नु फाइदाजनक हुन सक्छ ।
एसिडिटीको समस्याबाट जोगिन खाना खाएलगत्तै अगाडितर्फ झुकेर कुचो लगाउनु, कपडा धुनु वा कुनै काम गर्नु नहुने उल्लेख गर्दै डा. यादव भन्छन्, ‘एसिड रिफ्लेक्स सबैभन्दा बढी रातिमै देखिने गर्छ ।’ यस्तै, एसिड रिफ्लेक्सको समस्या भएकाहरूले रक्सी, कफी, सूर्ती, कोल्ड ड्रिंक्स (कार्बोनेटेड अर्थात् पिंँmज आउने) चकलेट, क्रिम, चिल्लो, कागती लगायतका निबु प्रजातिका फलफूल उपयोग गर्नु हुँदैन ।
यस्ता व्यक्तिले बिनाकारण चिन्ता, शोक नगरेर तनावमुक्त वातावरणमा बाँच् तनुपर्छ । योग, प्राणायाम, नियमित व्यायामले समेत सघाउँछ ।
एसिड रिफ्लेक्स र मुटु पोल्नु
आमाशयमा खाना पचाउनका लागि उत्पादित एसिड तल पेटमा नगएर माथितिर खानाको नलीमा पुग्ने अवस्था लाई एसिड रिफ्लेक्स भनिन्छ । यसमा दुखाइ हुँदैन । जब कि छाती वा मुटु पोल्नु (हार्ट बर्न) मा छातीको बीच भागमा दुखाइ, पोलाइ र बेचैनी हुन्छ । यो त्यति खेर हुन्छ जब खानाको नली (इसोफ्यागस) को भित्री तह एसिडको सम्पर्कमा आएर नष्ट भइहाल्छ । एसिड रिफ्लेक्स छाती पोलाइबिना पनि हुन सक्छ, तर छाती पोलाइ एसिड रिफ्लेक्सबिना हुँदैन ।