२०८१ भाद्र २४, सोमबार

ग्याष्ट्रिकको कारण र समाधान

२०८१ भाद्र १६, आईतवार
पढ्ने समय : 3 मिनेट

ग्याष्ट्रिक नेपालीहरुलाई चिनाउने परिचित रोग हो । विशेषतः यो रोग खानपानको सन्तुलन नमिलेमा लाग्ने गर्दछ । ग्याष्ट्रिक भएमा पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना अरुची हुने, पेट ढुस्स फुलेको, भरिएको जस्तो लाग्ने हुन्छ।

धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, कालो दिसा हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जाने पनि हुन्छ ।

किन र कसरी हुन्छ यो ग्याष्टिक रोग ?
हामीले खाएको खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसहरुका साथसाथै हाइड्रोक्लोरिक एसिड भनिने एक खालको कडा अम्ल पनि हुन्छ । यो अम्लको उत्पादन हाम्रो आमाशयभित्र हुन्छ र यसको काम खाना पचाउनलाई सहयोग गर्नुका साथै आमाशय भित्रका किटाणुहरुलाई मार्ने काम पनि गर्छ ।

आमाशयलाइ हाइड्रोक्लोरिक बचाउनका लागि हाम्रो शरीरमा विभिन्न प्रक्रियाहरु हुन्छन । जस्तै आमाशयका भित्री सतहका कोषहरुले बाक्लो जेली जस्तो अर्धतरल पदार्थ म्युकस निकालिरहेको हुन्छ जसले उक्त अम्लबाट आमाशयलाई बचाउने काम गरिरहेको हुन्छ । त्यस्तै उक्त अम्लको असरलाई कम गर्नको लागि बाइकारबोनेट एक प्रकारको क्षार पनि उत्पादन भइरहेको हुन्छ ।

ग्यास्ट्राइटिस गराउन सक्ने र त्यसबाट बचाउने प्रक्रियाहरुको सन्तुलनमा गडबडीका कारण तपाईहामीलाई ग्याष्टिक वा ग्यास्ट्राइटिस रोग लाग्छ । यसका कारणहरुमा हेलिकोब्याक्टर पाइलोरी भन्ने किटाणुको संक्रमण अग्रपंक्तिमा पर्छ । त्यस्तै धुम्रपानको कारणले पनि यो रोग हुने सम्भावना बढ्न जान्छ । ब्रुफेन निम्स आदि दुखाइ कम गर्ने औषधीहरुको अत्यधिक सेवनले पनि यो समस्या हुनेगर्छ ।

रोगको पहिचान कसरी गर्ने ?
साधारणतया यो रोग विरामीको समस्या सुनेर शरिरको जाँच गरेर नै पत्ता लगाउने गरिन्छ, यो तरिकालाई क्लिनिकल डायगनोसिस भनिन्छ । माथि भनिएका लक्षणहरु पेट पोल्ने, छाति पोल्ने, पेट फुलेको जस्तो हुने, खाना अरुची हुने आदी हुन ।

शरीर जाँचमा अरु खराबी देखिएन भने ग्याष्ट्रिक वा ग्यास्ट्राइटिस रोग भनी भन्ने गरिन्छ । तर कहिलेकाही अरु रोगहरुसँग झुक्किने हुँदा र यो रोगको अरु जटिल अवस्थाहरु भइसकेका छन् की छैनन् भनी थाहा पाउनका लागि केही जाँचहरु गर्ने गरिन्छ ।

यो रोगमा कहिलेकाहीँ छाती पोल्नुका साथै दुख्ने पनि हुन्छ र मुटुका रोगहरुसँग झुक्किने हुन्छ । त्यसैले त्यस्तो बेला मुटुको रोग हो होइन भनि छुट्याउनका लागि मुटु सम्बन्धी जाँचहरु इसिजी, मुटुका इन्जाइमहरुको मात्रा आदि गर्नुपर्ने हुन्छ ।

त्यस्तै कहिलेकाहीँ पेटका अन्य रोगहरु जस्तै प्यान्क्रियाटाइटिसर प्यान्क्रियाजर, एपेन्डिसाइटिसर कोलेसिस्टाइटिसर पित्तथैलीको इन्फ्लामेसन आदि रोगहरुसँग झुक्किने हुन्छ । त्यसैले ती रोगहरुबाट छुट्याउनका लागि रगतका विभिन्न जाँचहरु, पेटको भिडियो एक्सरे आदि गर्नुपर्ने हुन्छ ।

साथै कुनैकुनै अवस्थामा ग्याष्ट्रिक र ग्यास्ट्राइटिस रोगमा हुनसक्ने जटिल अवस्थाहरु जस्तै ग्याष्ट्रिक अल्सर (आमाशयको भित्री भागको सतह खिइएर घाउ हुनु), ड्युडेनल अल्सर (सानो आन्द्राको अल्सर), आमाशय वा आन्द्रामा प्वाल पर्ने आदि भए नभएको थाहा पाउनको लागि अप्पर इन्डोस्कोपीर (मुखबाट पाइप छिराएर पेटमा घाउ भएनभएको हेर्ने जाँच गर्ने), पेटको एक्सरे गर्ने आदि गर्नुपर्ने हुन्छ ।

यो रोगबाट कसरी बच्ने?
साधारणतया ठिक समयमा खाना खाने, पेट खालि नराख्ने, चिल्लो, पिरो अमिलो धेरै नखाने, पानी प्रशस्त मात्रामा पिउने आदि गर्नाले यो रोगबाट बच्न सकिन्छ । रक्सी चुरोटको सेवन कम गर्ने, मानसिक चिन्ता कम लिने गर्नाले पनि यो समस्याबाट बच्न सकिन्छ ।

साथै दुखाई कम गर्ने औषधिहरुको अनावश्यक र अत्यधिक सेवन गर्नुहुँदैन । र रोगको शंका लागेमा तुरुन्त डाक्टरलाई देखाइ औषधि सेवन गर्ने रोकथामका उपायहरु अपनाउने गर्नाले यसका जटिल अवस्थाहरुबाट बच्न सकिन्छ ।

यसको उपचार के हो ?
घरेलु उपचारहरु जस्तै चिल्लो, पिरो, अमिलो कम खाने, पानी प्रशस्त मात्रामा पिउने, धेरै बेर खाली पेट नबस्ने जस्ता सावधबनी अपनाउँनाले पनि यो रोगबाट धेरै छुटकारा मिल्छ । ग्याष्टिकको समस्या धेरै नै छ र घरेलु उपचारले मात्रै ठिक भएन भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ ।

साथै हेलिकोब्याक्टर पाइलोरी किटाणुको संक्रमणले गर्दा यो समस्या भएको हो भने ट्रिपल थेरापी भनिने उपचार पद्धति शुरु गरिन्छ, जसमा प्रायः क्लारिथ्रोमाइसिनर, एमोक्सीसिलिनर र ओमेप्राजोलरगरी ३ औषधीहरु ७ दिनको लागि प्रयोग गरिन्छ ।

यी औषधीहरु हामीमध्ये धेरैजसोले साधारण ग्याष्टिकको औषधी त हो नि भनि चिकित्सकको सल्लाहविना प्रयोग गर्ने गर्छौं । तर यिनका खराब असरहरु पनि हुन्छन र चिकित्सकको सल्लाह विना यिनको प्रयोग गर्नु हानिकारक हुनसक्छ ।

अझ अरु रोगको औषधी पनि खाइरहनु भएको छ भने ती औषधीहरुसँग यसले प्रतिक्रिया गर्नसक्छ । त्यसैले यस्ता औषधीहरुको प्रयोग गर्नु अघि चिकित्सकसँग सल्लाह लिनु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार