उर्लाबारी, ५ असार/मोरङको उर्लाबारी नगरपालिकाले माटो परीक्षण नगर्ने किसानलाई कुनैपनि अनुदान नदिने भएको छ ।
नगर प्रमुख गंगा खरेलले बुधबार आयोजित १२ औँ नगर सभामा यस्तो वताएका हुन् ।
चालु आर्थिक वर्ष २०८०/०८१ मा नगरका ७०७ जना किसानले माटो परीक्षण गरेको सभामा वितरित प्रतिवेदनमा जनाइएको छ ।
सभामा उपप्रमुख मिना खतिवडाले आगामी आव ०८१/८२ का लागि एक अर्ब पांच करोड १६ लाख ४३ हजार ५ सय रुपैयांको अनुमानित बजेट प्रस्ताव गरेकी छन् ।
चालु आवका लागि नगरले सङ्घीय सरकार वित्तीय समानीकरणबाट १६ करोड २१ लाख,सङ्घीय सरकार विशेष अनुदान तीन करोड, सङ्घीय सरकार सशर्त अनुदान ४५ करोड ८४ लाख, सङ्घीय सरकार समपूरक अनुदान एक करोड ५० लाख, सङ्घीय सरकार वन रोयल्टी ३७ लाख, विज्ञापन करबाट तीन लाख ५० हजार प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड १३ लाख १८ हजार ,प्रदेश सरकार समपूरक अनुदान एक करोड ५० लाख, प्रदेश सरकार सवारीसाधन करबाट प्राप्त हुने ९७ लाख ७५ हजार, प्रदेश सरकार शसर्त अनुदान ५८ लाख २ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी मूल्य अभिवृद्धि करबाट प्राप्त हुने १० करोड, जनसहभागिताबाट एक करोड ९० लाख र आन्तरिक आम्दानी तर्फ ९ करोड ९१ लाख ८७ हजार गरी कुल एक अर्ब पांच करोड १६ लाख ४३ हजार ५ सय रुपियाँको अनुमानित बजेट प्रस्ताव गरिएको छ ।
त्यसैगरी प्रशासनिक खर्चतर्फ १४ करोड ९१ लाख ६० हजार ,नगर गौरवको आयोजनाका लागि एक करोड,समपूरक कोषका लागि २ करोड,भवन निर्माण एक करोड,विपत् व्यवस्थापन एक करोड २५ लाख ,नगरपालिका विशेष क्षेत्रगत योजना तथा कार्यक्रम २७ करोड ४७ लाख ८१ हजार रुपैयां विनियोजन गरिएको छ ।
नगरले चालु खर्च ४२ करोड ८१ लाख १० हजार र पुँजीगततर्फ ६२ करोड ३५ लाख ३३ हजार पांच सय रुपैयां खर्च हुने अनुमान गरिएको छ ।