उर्लाबारी, २३ माघ/मानवको व्यक्तित्व विकासका लागि खेलकुद महत्वपूर्ण विधा भएको प्रदेश सांसद शोभा चेम्जोङ पालुङवाले बताएकी छन् ।
मोरङको उर्लाबारी नगरस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले भनिन्, ‘मानवको व्यक्तित्व विकासका लागि धेरै विधाहरु छन् । तीमध्ये खेलकुद पनि महत्वपूर्ण विधा हो ।’
खेलकुदले खेलाडिहरुलाई अनुशासित बनाउने राय व्यक्त गर्दै सांसद शोभाले अनुसाशित खेलाडि समुदाय, समाज र राष्ट्रका लागि असल नागरिक भएको बताइन् ।
प्रतियोगितामा बिजेता खेलाडिहरुको काँधमा अझ बढी जिम्मेवारी प्राप्त भएको बताउँदै उनले उपविजेताहरुले पनि हतोत्साहित नभई निरन्तररुपमा अभ्याश गरेमा भविष्यमा सफलता प्राप्त गर्ने बतााइन् ।
समाजमा धेरै वालवालिका, किशोरकिशोरी र युवायुवतीहरु कुलतमा फसिरहेको घटना प्रति चिन्ता व्यक्त गर्दैै सांसद शोभाले उनीहरुलाई खेलकुद क्षेत्रमा लगाउन सकिएमा कुलतबाट मुक्त पार्न सकिने धारणा राखिन् । उनले खेलकुदको विकास र खेलाडिहरुका हितका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सांसद शोभाले प्रतियोगितामा प्रथम हुने राधिका माविलाई रनिङ शिल्ड प्रदान गरिन् ।
राधिका मावि व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुको अध्यक्षतामा भएको सो प्रतियोगिता समापन कार्यक्रममा भलिभल संघका प्रदेश उपाध्यक्ष विरवल थापा, शिक्षक गणेश दुलाललगायतले बोलेका थिए ।
ADVERTISEMENT