टाँडी (मोरङ), ९ फागुन/प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाले सीप भनेकै आर्थिक सशक्तिकरण भएको बताएकी छन् ।
महिला लक्षीत कार्यक्रमअन्तर्गत मंगलबार मोरङको मिक्लाजुङ–२ साखरेमा सञ्चालित १५ दिने स्वीटर बुनाई तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
आयआर्जनका लागि दरिलो हतियार भएकोले सीपलाई व्यावहारिक रुपमा प्रयोग गर्न सुझाव दिँदै उनले भनिन्, ‘तपाईहरुले जुन सीप सिक्नुभएको छ, त्यसलाई व्यवसायतर्फ लैजानुपर्यो, कसरी हुन्छ आयआर्जन गर्नुपर्यो ।’ सीपको माध्यमबाट आर्थिक सवलिकरण गर्नुपर्ने उनको भनाई छ ।
वडामा विनियोजित बजेट प्रति चासो राख्न सुझाव दिँदै उनले महिलाहरु पनि आफ्नो हकअधिकार प्रति सचेत र जुझारु हुनुपर्ने बताइन् । त्यसो गरेमा महिलाहरु पनि सक्षम हुँदैजाने र बजेट आफ्नो अनुकुल विनियोजन हुने उनको भनाई छ । महिलाहरु चुलो चौकामा मात्र सिमित नभई आफ्नो काम, कर्तव्य र अधिकार प्रति सचेत रहेको खण्डमा सक्षम बन्दै जाने उनले बताइन् ।
उनले भनिन्, ‘जव हामी सक्षम बन्छौं, तव मात्र विकासका मुलधारमा आउन सक्छौं ।’ महिलाहरु पुरुषको हाराहारीमा अगाडि नआएसम्म समाज र राष्ट्र समृद्ध हुन नसक्ने उनले बताइन् ।
सोही अवसरमा प्रदेश सभा सदस्य शोभाले तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपात्र बितरण गरिन् ।
तालिम आयोजक समितिकी संयोजक सरला राईको अध्यक्षतामा भएको सो कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पोडैल, मिक्लाजुङ–२ का वडाध्यक्ष बलबहादुर श्रेष्ठलगायतले बोलेका थिए ।
प्रशिक्षार्थी मनिषा राईले सो कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
नरमाया खनालले सहजीकरण गरेको सो तालिमा ३३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको महिला वडा सदस्य उषा राईले जानकारी दिइन् ।