उर्लाबारी, १३ माघ/लाखौं रुपैयाँ हिनामिना गरेको आरोपमा मोरङको मिक्लाजुङ–३ धोबेनीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक मेनुका शिवालाई प्रहरीले पक्राउ गरेको छ ।
संस्थाको ३८ लाख रुर्पैयाँ भन्दा बढीको हिसाब देखाउन नसकेपछि सञ्चालक समितिले शिवाविरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएको थियो । यही जाहेरीका आधारमा शिवालाई प्रहरीले पक्राउ गरेका हो ।
संस्थाकी अध्यक्ष मिना कार्कीले पुस २२ गते संस्थाको रकम राख्ने सेफ चोरी भएको र सो घटनामा शिवाको पनि संलग्नता रहेको शंका उत्पन्न भएपछि प्रहरी कार्यालयमा उजुरी दिएको बताइन् । ‘हामीले एउटी महिला भनेर हिसाब देखाउने मौका पनि दियौं, तर उनले हिसाव देखाउन नसकेपछि प्रहरी कार्यालयमा उजुरी दिएका हौं’, उनले भनिन ।
पक्राउ परेकी शिवा २०७४ सालदेखि सो संस्थाको व्यवस्थापकको रूपमा कार्यरत छिन् । उनले गत कात्तिक मसान्त सम्मको हिसाब देखाउन मात्र ३८ लाख भन्दा बढी रकम रहेको अध्यक्ष कार्कीले बताइन ।
व्यवस्थापक शिवाले कुनैपनि हिसाब सञ्चालक समितिलाई नदेखाएको कारण वास्तविक रुपमा कति रकम हिनामिना भयो भनेर सही तथ्याकं बाहिर आउन सकेको छैन । ‘कति रकम ऋण लगानी छ, कती रकम अपचलन भयो र कति रकम मौज्दात छ भनेर यकिन भएको छैन’, कार्कीले भनिन।
संस्थाकी पूर्व अध्यक्ष उषा राईले सञ्चालक समितिका पदाधिकारीको समेत गैह्र जिम्मेवारीका कारण घटना भएको आरोप लगाइन । समयमा हिसाब नहेर्नु र चेकजाँच नगर्नु नै समितिको गैह्र जिम्मेवारी भएको उनको भनाई छ ।
उता पक्राउ परेकी शिवाले काम गर्ने सिलसिलामा केही त्रुटी भएपनि आफूले आर्थिक हिनामीना नगरेको प्रहरी समक्ष बताएकी छन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यही घटनाको विषयलाई लिएर संस्थाका शेयर सदस्यहरु शुक्रबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा जम्मा भएका थिए । ‘यस घटनामा शिवा मात्र एक्लै दोषि छैन, सञ्चालक समितिका पदाधारी माथि पनि छानविन हुनुपर्छ’, शेयर सदस्य दुर्गा राईले भनिन ।
२०६८ सालमा स्थापित सो संस्थामा मिक्लाजुङ–२,३,४ र ६ नम्बर वडाका सात सय ७६ जना शेयर सदस्य छन् ।