२०८१ भाद्र २४, सोमबार

सिरियल किलर चार्ल्स शोभराज कस्ता मान्छे हुन् ? जो आज १९ वर्षपछि जेलबाट छुटे

२०७९ पुष ८, शुक्रबार
पढ्ने समय : 2 मिनेट

चोरी, लुटपाट र हत्यामा संलग्न भएर सिरियल किलरको पहिचान पाएका चार्ल्स शोभराज जेलमुक्त भएका छन्। जन्मकैद (२० वर्ष) सजाय पाएका उनलाई कैदीले रोग र उमेरका कारण पाउने सुविधा अन्तर्गत एक वर्ष सजाय कम गरी सर्वोच्च अदालतले मुक्त गरेको हो। 

उनलाई अब फ्रान्स नै पठाइने भएको छ। उनलाई दस वर्षसम्म नेपाल फर्किन नपाउने गरी निष्कासन गरिएको हो।

२०३२ पुसमा भक्तपुरको साँगा र काठमाडौंको मनोहरामा क्यानडियन र अमेरिकी नागरिकको हत्यामा दोषी ठहरिएपछि उनलाई सर्वोच्चले जन्मकैद सजाय तोकेको थियो। तर शोभराज यो हत्या घटनाको २८ वर्षपछि मात्र पक्राउ परेका हुन्।

‘बिकिनी किलर’, ‘सर्पेन्ट’, ‘द स्प्लिटिङ किलर’ जस्ता उपनाम पाएका चार्ल्स खुंखार अपराधी मानिन्छन्। हाल ७८ वर्षीय उनी भारतीय बाबु र भियतनामी आमाका सन्तान हुन्। उनका आमाबुवाको बिहे भएको थिएन। पछि उनकी आमाले फ्रेन्च नागरिकसँग बिहे गरिन् र शोभराजले उनकै अभिभावकत्व पाए।

चार्ल्स किशोर उमेरदेखि नै स-साना अपराधमा संलग्न थिए। १९ वर्षको हुँदै लुटपाट आरोपमा उनलाई पहिलोपटक सजाय भएको थियो। जेलबाट छुटेपछि उनी आपराधिक गतिविधिमै संलग्न भए। चोरी, लुटपाट र ठगीमा सक्रिय उनी केही समयपछि फ्रान्सबाट भागेर एसिया आए।

एसियाली देशहरूमा उनले थुप्रै ठगी र लुटपाट गरे। पटकपटक पक्राउ परे पनि उनले आफ्नो अपराधको बाटो छाडेनन्। उनी पर्यटकहरूको पासपोर्ट चोरेर त्यही पहिचानमा विभिन्न ठाउँ पुग्थे र अपराध गर्थे।

द गार्डियनका अनुसार उनले सन् १९७० दशकदेखि हत्या गर्न थालेका हुन्। नेपाली, भारतीय र थाई नागरिक गरी २० जनाको हत्या गरेको देखिए पनि यो संख्या अझै धेरै हुने अनुमान छ। उनले पर्यटकहरूलाई लागुऔषध खुवाएर बेहोसीमा लुटपाट गरी हत्या गर्थे भनिन्छ।

अपराधको सिलसिलामा उनी भारतमा पनि पक्राउ परेका थिए। २० वर्ष कैद सजाय भए पनि जेलमा उनी सुविधासहित बसेका थिए। जेलरदेखि प्रहरी प्रशासनसम्मलाई घुस खुवाएर उनी आफ्नो काम सहजै गराउँथे। बीचमा उनी जेलबाट भागे पनि। तर फेरि पक्राउ परे।

भारतको जेलमा गार्डहरुलाई घुस खुवाएर जेलभित्रै टिभी, मीठो खाना, आरामदायी बाससहित विलासी जेल जीवन उनले बिताए। जेलै उनका लागि ठीक पनि थियो। किनभने थाइल्यान्डमा उनले गरेको हत्याको लागि त्यहाँको सरकारले २० वर्षका लागि अरेस्ट वारेन्ट जारी गरेको थियो। उनी भारतबाट रिहा भएको भए निश्चित रुपमा थाइल्यान्डलाई सुपुर्दगी गरिन्थ्यो र त्यहाँ उनले मृत्युदण्ड पाउँथे। चलाख शोभराजले रिहा हुन २ वर्ष बाँकी छँदा मार्च १९८६ मा कैदी र गार्डहरुका लागि पार्टी दिएर स्लिपिङ पिल खुवाएर जेलबाट टाप ठोके। तर उनलाई तुरुन्तै गोवामा गिरफ्तार गरियो र उनलाई थप १० वर्ष जेल सजाय सुनाइयो।

सन् १९९७ को फेब्रुअरी १७ मा ५२ वर्षको उमेरमा उनी भारतीय जेलबाट रिहा हुँदा उनीविरुद्धका धेरै वारेन्ट, प्रमाण र प्रत्यक्षदर्शी हराइसकेका थिए। सुपुर्दगी गर्ने कुनै देश नरहेकोले भारतीय अधिकारीहरुले उनलाई फ्रान्स फर्कन दिएका थिए।

फ्रान्स फर्केपछि उनी विलासी जीवन बिताइरहेका थिए। उनले आफ्नो अन्तर्वार्ता, कथाका लागि मोटो रकम असुल्थे। तर पाप धुरीबाट कराउन बाँकी थियो। त्यसैले उनी नेपाल आए। सन् २००३ को सेप्टेम्बर १७ मा दि हिमालयन टाइम्सका पत्रकारले शोभराजलाई काठमाडौँको सडकमा भेट्टाए। पत्रिकाले यो स्कूप समाचार छापेको दुई दिनपछि प्रहरीले उनलाई दरबारमार्गको याक एन्ड यति होटलको क्यासिनोबाट उनलाई गिरफ्तार गरेको थियो।

त्यसयता उनको बास सुन्धाराको केन्द्रीय कारागारस्थित गोलघरमा छ। स्क्यान्डल मच्चाउन खप्पिस शोभराजको एक युवती निहिता विश्वाससित प्रेम र बिहेको प्रसंग पनि एकताका चर्चामा थियो। तर अहिले त्यो सेलाइसकेको छ।

नेपालको कानुन अनुसार जन्मकैद भनेको २० वर्षको जेल सजाय हो। सन् २००३ देखि जेलमा रहेका थिए उनी।

कयौँको बाँच्ने इच्छालाई क्रुरतापूर्वक निमोठेका उनलाई पछि मृत्युको भयले सताएको थियो। त्यसैले पछिल्लो समयमा उनले भन्ने गरेका थिए- म जेलमा मर्न चाहन्नँ। उनको इच्छा पूरा भयो- उनले जेलमा मर्न परेन।

केन्द्रीय कारागारले आजै शोभराजलाई कैदमुक्त गरी अध्यागमनको जिम्मा लगाएको थियो । १० वर्ष नेपाल बस्न नपाउने गरी निष्कासनमा परेका शोभराजलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार