
उर्लाबारी, ७ पुस/नवनिर्वाचित प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वालाई बिहीबार मोरङको उर्लाबारीमा सम्मान गरिएको छ । उर्लाबारी–७ मा रहेको निरु ढाका कपडा उद्योगले एक कार्यक्रमबीच उनलाई सम्मान गरेको हो ।
सम्मान ग्रहण गर्दै उनले सबैको साथ, सहयोग र सदभावबाट आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पुरा गर्ने बताएकी छन् । एकल प्रयासले मात्र विकास, समृद्धि र सुशासन कायम राख्न कठिन हुने भएकाले त्यसमा सबैको सहयोग आवश्यक पर्ने उनको भनाई थियो ।
संघर्ष विना जीवन सफल नहुने उल्लेख गर्दै उनले हरेक आरोह अवरोह पार गर्दै आफू अहिलेको स्थानसम्म आइपुगेको बताइन् । जीवनमा कसैले पनि हरेस खान नहुने सुझाव दिँदै उनले प्रत्येक मिनेट र पल ऊर्जावान हुने बताइन् ।
यसैबीच प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले तीन महिने आधारभुत ढाका वुनाई तालिमका प्रशिक्षार्थीहरुलाई प्रशंसापत्र बितरण गरेकी छन्।तालिमबाट सिकेका ज्ञान र सीपलाई सदुपयोग गर्न उनले आग्रह गरिन् ।
आफूले सिकेका ज्ञान र सीपलाई आफूमा मात्र सिमित राखे त्यसले केही अर्थ नराख्ने भएकाले स्वरोजगार बन्न सीपलाई हतियारको रुपमा प्रयोग गर्नुपर्ने उनको सुभाव छ ।सीपलाई हतियार बनाएमा सफल व्यवसायीको रुपमा स्थापित हुन सकिने उनको भनाई छ ।
उर्लाबारी–७ की वडा सदस्य मनमाया तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा कुरुती अन्त्य समाजकी अध्यक्ष दुर्गावती लिम्बु, महिला उत्थान मञ्चकी अध्यक्ष सर्शु गुरुङ, समाजसेवी भागिरथा अधिकारी, व्यावसायिक तथा सीप विकास केन्द्र भद्रपुरका अधिकृत विनोदप्रसाद न्यौपाने, उर्लाबारी–७ का वडा सचिव विश्वनाथ दाहाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
व्यावसायिक तथा सीप विकास केन्द्रको सहयोगमा उर्लाबारी–७ वडा कार्यालयद्वारा आयोजित सो तालिममा २० जनाको सहभागिता थियो । तालिममा निरु ढाका कपडा उद्योगकी सञ्चालिका निर्मला चौहानले सहजीकरण गरेकी थिइन् । तालिममा सहभागीमध्ये उत्कृष्ठ पुष्पा भुजेल, समिक्षा सिँजाली मगर र सन्जिता कुर्कुटीलाई पुरस्कृत गरिएको थियो ।
सोही अवसरमा स्थानीय रामकुमारी विक र मञ्जु वयलकोटीलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ । सीपको माध्यमबाट आत्मनिर्भर बन्न सकेको भन्दै निरु ढाका कपडा उद्योगको आठौं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई प्रशंसापत्र प्रदान गरिएको हो ।
अन्तरपार्टी महिला सञ्जाल उर्लाबारीकी अध्यक्ष गीता अधिकारी खतिवडाले तालिम समापन कार्यक्रम सञ्चालन गरेकी थिइन् ।