
उर्लाबारी, १ पुस/मोरङको उर्लाबारीमा शुक्रबारदेखि प्याब्सनको नगरस्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
प्याब्सन नगर समितिद्वारा आयोजित यो प्रतियोगिताको उद्घाटन नवनिर्वाचित प्रदेश सभा सदस्य उमाकान्त गौतमले गरे । फुटबल, भलिबल र फुटसल खेल समावेश गरिएको प्रतियोगितामा नगरका १८ विद्यालयले भाग लिएको आयोजक समितिका अध्यक्ष दिनेश पोखरेलले जानकारी दिए ।
फुटबल र भलिबलतर्फ कक्षा १० तथा फुटसलतर्फ कक्षा ८ का छात्रछात्रालाई प्रतिस्पर्धा गराइनेछ । भलिबलमा छात्र र छात्रा दुवै सहभागी छन् । तर फुटबल र फुटसलमा छात्रहरु मात्र भिड्नेछन् ।
प्रतियोगितामा बिजेता तथा उपविजेता टिम तथा खेलाडिहरुलाई नगद पुरस्कारसहित टफी र प्रमाणपत्र प्रदान गरिने पोखरेलले जनाए ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य लेखनाथ भट्टराईले शैक्षिक, सामाजिक र अन्य जनसरोकारको विषयमा प्याब्सन अगाडि बढिरहेको राय व्यक्त गरे ।
उर्लाबारी–४ का वडाध्यक्ष कल्याण राईले खेलकुद र शिक्षालाई सँगसँगै लिएर जान सकेमात्र जिम्मेवार नागरिक उत्पादन गर्न सकिने धारणा राखे ।
प्याब्सन नगर समितिका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन यादब भण्डारीले गरेका थिए ।