
उर्लाबारी, १२ मंसीर/राजनीतिक दलका अधिकांश नेताहरु चुनाव जितेपछि चिनेकोलाई पनि नचिने झैं गर्छन् । जनतासामु दिएको प्रतिबद्धता पुरा गर्नु त कहाँ हो कहाँ उनीहरु चुनाव जितेपछि मतदातासमक्ष नाकमुख नै देखाउँदैनन् । तर प्रदेश सभा सदस्यका एकजना उम्मेदवारले पराजित भएपनि चुनावको बेला आफूले दिएको बचन पुरा गरेका छन् । यसरी बचन पुरा गर्ने उम्मेदवार हुन्–पूर्ण वाइबा ।
यही मंसीर ४ गते मोरङ क्षेत्र नं.१(१) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका वाइबाले अपाङ्गता भएका एक व्यक्तिलाई मानवीय सहयोग गरेका छन् । भोट माग्नेक्रममा वाइबाले उर्लाबारी–२ का ६५ वर्षिय पुष्पबहादुर बोहोराको बिजोग देखेपछि ह्रिवल चियर सहयोग गर्ने बचन दिएका थिए । त्यो सहयोग उनले सोमबार पुरा गरे ।
मतगणनापछि बाइवा नौ हजार एक सय ८४ मत ल्याई पराजित भए । तथापि चुनावअघि दिएको बचन उनले पुरा गरेका हुन् । बाइवाले राप्रपाका स्थानीय नेता कार्यकर्तासहित बोहोराको घरमै पुगेर ह्रिवल चियर प्रदान गरेका छन् । वाइबाले १२ हजार पाँच सय रुपैयाँमा ह्रिवल चियर खरिद गरी बोहोरालाई प्रदान गरेका हुन् ।
हुनत वाइबा यसअघि पनि यस्तै मानवीय सेवामा क्रियाशिल थिए । उनले झापाको दमकमा चर्चित बाल गायक अशोक दर्जी र उनका साथी भुइंकटहरेको घर निर्माण गरिदिएका थिए । वाइबाले लेटाङका बिष्णु मगरको घर समेत निर्माण गरिदिएका थिए ।