
कानेपोखरी, २९ असोज/राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मोरङ क्षेत्र नं.३ मा उम्मेदवार बनेकी नायिका रेखा थापाले विकासको महाअभियानमा एकजुट हुन नागरिकहरुसँग आग्रह गरेकी छन् ।
मोरङको कानेपोखरी–४ स्थित वयरवनमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नायिका थापाले भनिन्, ‘क्षेत्र नं.३ बनाउने महाअभियानमा सबैजना एकजुट हौं, मलाई सबैको साथ र आशिर्वाद चाहिएको छ ।’
विगतमा गलत व्यक्तिले चुनाव जितेका कारण यस क्षेत्रको विकास हुन नसकेको उल्लेख गर्दै थापाले आफू त्यसलाई विकल्प दिन जनता माझ आएको प्रष्ट पारिन् । कांग्रेस र एमाले राम्रै राजनीतिक दल भएपनि व्यक्ति गलत भएका कारण विकास हुन नसकेको आरोप लगाउँदै थापाले आफू सबै दलको साझा उम्मेदवार भएको दाबी गरिन् ।
राप्रपाकी केन्द्रीय सदस्य समेत रहेकी थापाले गरीब दु:खी सबैले समानरूपले बाँच्न पाउनु आफू र आफ्नो पार्टीको मान्यता रहेको सुनाइन् ।
दशकौंदेखि भ्रष्ट उम्मेदवारहरुले चुनाव जितेका कारण यस क्षेत्रको विकास हुन नसकेको ठोकुवा गर्दै थापाले यस वर्षको चुनावलाई अवसरको रुप लिन आग्रह गरेकी छन् ।
वर्षौंदेखि भोगचलन गरेको जग्गाको धनीपुर्जा दिँदा सरकारलाई कुनै पीडा नहुने भएपनि त्यसतर्फ ध्यान नदिनु विडम्बना भएको थापाले बताइन् । ऐलानी जग्गाको विषयमा आफूले विज्ञहरुसँग छलफल गरेको र त्यसको समधान हुनसक्ने बताउँदै थापाले आफूले चुनाव जितेमा यसलाई प्राथमिकतामा राख्ने बताइन् ।
आफू यस क्षेत्रको सन्तान भएको र यस क्षेत्रकै माया र आर्शिवादले कलाकारितामा सफल भएको राय व्यक्त गर्दै थापाले सबैको अनुहारमा हाँसो र खुशी ल्याउने आफ्नो सपना रहेको बताइन् । आफूलाई राजनीतिक चश्माले नहेर्न आग्रह गर्दै नायिका थापाले यस क्षेत्रको माया र आर्शिवाद लिएर सेवक बन्ने आफ्नो चाहना रहेको बताइन् ।
पैसाको चलखेल गर्नेसँग सावधान रहन आग्रह गर्दै नायिका थापाले अब भोट बैंक मात्र नभई युवा र सही उम्मेदवारलाई मत दिएर समयको सदुपयोग गर्न आग्रह गरिन् । आफू विजयी भए सँधै जनता माझ नै रहने उनले प्रतिबद्धता व्यक्त गरिन् ।