
रूपेन्द्र शेर्मा
उर्लाबारी, ९ असोज/सुन्दा व्यक्तिगत समस्या जस्तो लाग्छ–एउटाकी श्रीमती अर्को पुरुषले भगाएर लगिदिने घटना । तर यस्तै व्यक्तिगत समस्याले विकराल सामाजिक समस्याको रूप लिन सक्छ । यस किसिमको घटनाले कयौंको घरबार बिग्रेको छ, कयौं बालबालिका अनाथ जस्तै बनेका छन् । यसतर्फ राज्यले सही कदम नचाल्ने हो भने यस्तो घटनाले कयौंं दुर्घटना निम्तिन सक्छ ।
यस्तै समस्याबाट पीडित बनेका छन्–मोरङ, उर्लाबारी–८ राजघाटका २९ वर्षिय घुरन चौधरी । घुरनकी श्रीमती उमा नातामा भाई पर्ने सुसन चौधरीसँग फरार भएकी छन् । घुरन र उमाको १२ वर्षअघि प्रेम विवाह भएको हो । उनीहरुका दुई छोरी छन् । जेठी छोरीको उमेर ११ र कान्छी छोरीको उमेर अढाई वर्ष छ ।
उमा परपुरष सुसनसँग बेपत्ता भएपछि घुरनलाई अहिले दुई छोरी हुर्काउन हम्मे हम्मे परेको छ । कान्छी छोरीले रुँदै आमा खोज्नेगरेकाले घुरन तनावमा छन् । तर उमा भने आफूले गल्ती गरिसकेकाले घुरनसँग नफर्कने बताएकी छन् ।
उमाको नागरिकता भने विवाहपछि घुरनले नै वैवाहिक नागरिकता निकालिदिएका छन् । यसरी उमा भाई नाता पर्ने सुसनसँग बेपत्ता भएपछि उनले लिएको ऋणको बोझसमेत अहिले घुरनलाई परेको छ । ‘चार/पाँच लाख रुपैयाँ ऋण छ । दिनहुँ साहुले ताकेता गर्छ’, घुरन भन्छन्, ‘म एक्लैले यत्रो ऋण कसरी तिर्ने ?’
घुरनका अनुसार उमाले नै व्यापार गर्ने उद्देश्यले उक्त ऋण लिएकी हुन् । तर व्यापारमा लगानी गर्न भनी लिएको उक्त ऋणमध्ये झण्डै डेढ/दुई लाख रुपैयाँ उमाले लिएर गएकी छन् । श्रीमती उमाले धोका दिएका कारण अहिले घुरन तनावमा छन् । सुसनसँग बेपत्ता श्रीमती उमा घर फर्कने आशामा घुरन बाटो कुरिरहेका छन् ।