२०८१ माघ २९, मंगलवार

घाम पानीबीच रेखा थापा गाउँ पुग्दा तात्यो माहोल

२०७९ आश्विन ४, मंगलवार
पढ्ने समय : 2 मिनेट

रूपेन्द्र शेर्मा
पथरीशनिश्चरे (मोरङ), ४ असोज/टण्टलापुर घाम लागिरहेको थियो । घामसँग लुकामारी खेल्दै वर्षाको सुरुवात भयो । तीनै घाम पानीको न्यानो मौसमबीच मोरङ क्षेत्र नं.३ अन्तर्गत पथरीशनिश्चरे–३ र ७ वडामा पर्ने किरात चोकका वासिन्दा मंगलबार दिउँसो लोकप्रिय नायिकाको ब्यग्र प्रतिक्षामा थिए ।

पर्दामा मात्र देखिएकी नायिका रेखा थापासँग प्रत्यक्ष भेटघाट गर्न सबैजना आतुर थिए । यत्तिकैमा गाढा कालो रङको कारमा सवार नायिका थापा किरात चोक आइपुगिन् । सबैमा खुशीको सिमा रहेन । सँगसँगै आक्रोश पनि ।

आक्रोश यसकारण थियो की २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् पटक पटक भएका आम निर्वाचनमा सुकुम्वासी समस्या समधान गर्ने झुटो आश्वासन दिएर केही नेताले त्यस क्षेत्रको मत प्राप्त गरी चुनाव जिते । साँसद बने । मन्त्री बने । तर गाउँ फर्केनन् । समस्या ज्यूँका त्युँ ।

भूमीसम्बन्धी जटिल समस्याबाट ग्रसित किरात चोकका वासिन्दा प्रमुख राजनीतिक दलका नेताहरुबाट आजित भएका कारण उनीहरुले सुरुमा रेखा थापा त्यहाँ पुग्दा एकहोरो प्रश्नहरु तेर्स्याइ रहे।

‘हामीले धेरैपटक नेताहरुलाई भोट दिएर जितायौं, तर केहीपनि गरेनन, हाम्रो जग्गाको समस्या जस्ताको त्यस्तै छ’, स्थानीय शुशिला रिमालले नायिका थापासँग प्रश्न गरिन्, ‘कतै तपाई पनि त्यसरी नै भोट मात्र माग्न आउनुभएको त होइन ?’

प्रत्युत्तरमा नायिका थापाले कलाकारिता गरेर कमाएको इज्जत लिलामी गर्न आफू यहाँ नआएको स्पष्ट पार्दै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन् । ‘यहाँको समस्या तपाईहरुको मात्र होइन, मेरो आफ्नै समस्या हो’, लोकप्रिय नायिकाले भनिन्, ‘यदी मलाई मत दिएर संसद पठाउनु भयो भने यहाँको आवाज बुलन्द गर्ने छु, नत्र तपाईहरुलाई नै लिएर सिँहदरबार जानेछु ।’

विगतमा पनि आफूले भूमी सुधार मन्त्रालय गएर सुकुम्वासी समस्या समधानका लागि आवाज उठाएको जानकारी दिँदै नायिका थापाले नीति निर्माण तहमा पुगेर आधिकारिकरुपमा भूमिसम्बन्धी तड्कारो समस्या समधानका लागि पहल गर्ने बताइन् ।’

नायिका थापाले त्यहाँका वासिन्दालाई आफ्नो सपना बन्दकी नराख्न आग्रह गरेकी छन् । ‘उम्मेदवारको पृष्ठभूमी हेरेर मतदान गर्नुहोस् । युवालाई मतदान गर्नुहोस् । तर आफ्नो सपना बन्दकी नराख्नुहोस्’, उनले भनिन् ।

त्यहाँ उपस्थित जनसमुदायले नायिका थापासँग चलचित्रमा देखाएको सकरात्मक भूमिका रियल लाइफमा पनि देखाउन आग्रह गरेका छन् । त्यसमा सहमती जनाउँदै नायिका थापाले आफूले चुनाव जितेमा जनताको पिरमर्का र समस्यालाई सम्बोधन गर्न तयार रहेको बताइन् ।

अधिकांश स्थानीय वासिन्दाले यसपटक युवा उम्मेदवारलाई मतदान गर्ने राय व्यक्त गरेका छन् । ‘२०३६ सालदेखिको भूमीसम्बन्धी समस्यालाई एजेण्डा बनाएर चुनावमा धेरैजना आए । चुनाव जिते । तर केही पनि गरेनन्’, पथरीशनिश्चरे–७ का ६३ वर्षिय चिजबहादुर लिम्बुले भने, ‘अब यसपटक  नयाँ उम्मेदवारका लागि हामी सबैले अभियान नै चलाउनुपर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले आफू राजनीति गर्न गाउँ नआएको तर काम गर्न आएको प्रष्ट पारिन् । आफूले चुनाव जितेमा जनताको अभिमतलाई खेर जान नदिने उनले बताइन् ।

आगामी मंसीर ४ गते हुने निर्वाचनमा राप्रपाले मोरङ क्षेत्र नं.३ बाट संघीय संसदको उम्मेदवार बनाउने निश्चित् भएपछि नायिका थापाले व्यक्तिगत भेटघाट तीब्र पारेकी छन् ।

यसअघि थापाले कानेपोखरी, बेलबारी र सुन्दरहँरैचाका ग्रामीण वस्तीहरु गएर त्यसक्षेत्रका वासिन्दासँग भेटघाट गरी समस्या र गुनासो सुनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार