
उर्लाबारी, १० साउन/ लीलादेवी गड्तौला निमित्त, कायममुकाय हुँदै मुख्यसचिव पदमा नियुक्त भएकी छन्।
उनी नेपालको इतिहासमै पहिलो महिला मुख्यसचिव भएकी छन् ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिव बनाएसँगै मुलुकमा पहिलो पटक महिला कर्मचारी उच्चपदस्थ पदमा पुग्ने अवसर आएको हो।
तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि गत असार ९ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले वरिष्ठ सचिव गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाएको थियो।
गड्तौला २०७७ कात्तिकमा सचिवमा बढुवा भएकी थिइन्। उनको कार्यकाल यही भदौ १५ गतेसम्म मात्र छ। भदौ १५ गते उनी ५८ वर्ष पुग्छिन्। उमेर हदका कारण सोही दिनदेखि उनी अवकाशमा जाँदैछिन्।