काठमाडौं, २७ असार/सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित हुने भएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राकृतिक विपतका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
यसअघि सरकारले राजपत्रमा एक सूचना प्रकाशित गरी सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।उक्त सूचना अनुसार सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न १ साउनदेखि नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने छ ।जस अनुसार सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा, पेन्सन लिन, कर तिर्न, सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।
तर ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायतलाई भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा भत्ता नै नपाउने अवस्था आउने भन्दै विरोध भएको थियो ।