
उर्लाबारी, ३१ साउन/नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले कांग्रेसमा टिके प्रथाको अन्त्य गर्नुपर्ने बताएकी छन् । कांग्रेसभित्र टिके प्रथा अन्त्य गर्नका लागि आफूले निरन्तर आवाज उठाएको उनले बताइन् ।
कांग्रेसको विशेष आन्तरिक अभियानअन्तर्गत बुधबार मोरङको मधुमल्लामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विधान बमोजिम सबै समिति र भातृ संस्थाको अधिवेशन गराएर टिके प्रथा अन्त्य गर्न सकिने धारणा राखिन् ।
चिया चौतरामा वसेर पार्टी बिग्रियो भन्दै कांग्रेसका जिम्मेवार व्यक्तिहरुले नै बोलेको आफूले सुनेको उनले गुनासो गरिन् । जिम्मेवार व्यक्तिहरुले पार्टीमा ऊर्जा ल्याउने की आम कार्यकर्ताको भावनालाई दुरुत्साहित गर्दै मनोवल गिराउने भन्दै उनले प्रश्न गरिन् । पार्टीभित्रको कमी कमजोरीलाई वहसको माध्यमबाट केन्द्र, प्रदेश, जिल्ला, नगर र वडा तहसम्म सुधारेर लगे पार्टी वलियो हुुने उनले बताइन् ।
हरेक जिल्ला र क्षेत्रको रिपोर्टका आधारमा ८० प्रतिशत क्रेन्दीय प्रतिनिधिको माग बमोजिम नै विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै उनले अबको निर्बाचनमा गठबन्धन गर्ने कांग्रेसको भावना र मान्यता नरहेको स्पष्ट पारिन् ।
प्रदेश सहमहामन्त्री खड्ग फागोले राजनीति मान सम्मानको लागि नभई जनताको समस्या र अभाव समधानका लागि केन्द्रीत हुनुपर्ने धारणा राखे । पार्टीमा त्याग नगर्नेलाई पार्टीको महत्व थाह नहुने भएकाले त्यस्ता व्यक्तिलाई अवसर दिन नहुने उनको भनाई छ ।
अर्की सहमहामन्त्री प्रमिला गच्छदारले जनप्रतिनिधिले राम्रो काम गरेर देखाउन सके कांग्रेस प्रतिको जनधारणा सकरात्मक हुने टिप्पणी गरिन् ।
प्रदेश सांसद एबम् महाधिवेशन प्रतिनिधि शोभा चेम्जोङ पालुङवाले सबै नेता कार्यकर्ता अनुशासित भएर आ–आफ्नो काम, कर्तव्य र अधिकार बारे सचेत हुन सके कांग्रेसमा शुद्धिकरण आउने राय व्यक्त गरिन् । अनवरतरुपमा कांग्रेस प्रतिको निष्ठा र आदर्शमा समर्पित हुन सके पार्टी वलियो हुने बताउँदै उनले सबै नेता कार्यकर्ता आशावादी भएर जनता माझ जान सक्नुपर्ने धारणा राखिन् ।
सबै नेता कार्यकर्ता आत्मआलोचना गरी एकअर्काको अस्तित्वलाई स्वीकारेर अगाडि बढ्न सके कांग्रेसलाई वलियो बनाउन सकिने उनको भनाई छ ।
क्षेत्रीय सभापति शंकर राईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, जिल्ला कार्यवाहक सभापति भक्तिनाथ माझी, नेपाल महिला संघकी जिल्ला अध्यक्ष शान्ता पौडेल, क्षेत्रीय उपसभापति नरबहादुर मोक्तान, उर्लाबारी सभापति सुरेन्द्र लिम्बु, मिक्लाजुङ सभापति खगेन्द्र मादेन, गाउँपालिका अध्यक्ष बबी राई, महाधिवेशन प्रतिनिधि देवराज चाम्लिङ, मात्रृका न्यौपानेलगायतले सबै तहका पदाधिकारीले गल्ती सच्याएर अगाडि जान सके कांग्रेस बलियो हुने धारणा राखेका थिए ।