मधुमल्ला, १६ फागुन/प्रदेश सांसद शोभा चेम्जोङ पालुङवाले जनताको पक्षमा काम गर्न नेपाली कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिहरुलाई सुझाव दिएकी छन् । मुलुकको महत्वपूर्ण राजनीतिक परिवर्तनहरुमा कांग्रेसले अग्रणी भूमिका खेलेको चर्चा गर्दै उनले जनताले चाहे जस्तो विकास र समृद्धि ल्याउन अगाडि बढ्नुपर्ने बताइन् ।
मोरङको मिक्लाजुङ–९ मधुमल्लामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सांसद शोभाले आ–आफ्नो कमीकमजोरीलाई सच्याएर सबैको अस्तित्वलाई स्वीकार गरी अगाडि बढे पार्टी संगठन बलियो हुने धारणा राखिन् । सँगै बसेर काम गर्दा एकआपसमा स्वभावले नै मतमतान्तर हुनेभएपनि उनले एक ढिक्का भएर जनताको पक्षमा काम गरे पार्टी र समाज दुवैलाई फाइदा हुने बताइन् ।
जनताको हकअधिकार स्थापित गर्न र अर्थतन्त्र बलियो बनाउन कांग्रेस लाग्नुपर्ने बताउँदै साँसद शोभाले लोकतन्त्र बलियो बनाउन सामूहिक निर्णय आवश्यक पर्ने बताइन् । उनले मिक्लाजुङ क्षेत्रमा देखापरेका हात्ती आंतक नियन्त्रण गर्न र विद्यमान समस्या समधानका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि ललित अधिकारीले पार्टी संगठन र जनप्रतिनिधिबीच समन्वय अपरिहार्य रहेको औल्याउँदै समय समयमा पार्टी प्रतिनिधि र जनप्रतिनिधि बीच अन्तरक्रिया जरुरी रहेको बताए । त्यसो गरिएमा जनप्रतिनिधिले विगतमा गरेका काम र भविष्यमा गर्नुपर्ने काम बारे प्रष्ट हुने उनको भनाई छ । जनप्रतिनिधिले गरेका महत्वपूर्ण कार्यहरुको सूचना र जानकारी जनतालाई दिनुपर्ने र त्यो जनताको अधिकार भएको उनले बताए ।
कार्यक्रमको सभापतित्व गरेका मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष तथा कांग्रेस गाउँ सभापति बबि राईले बजेट र क्षमताले भ्याएसम्म जनहितका लागि काम गरेपनि त्यसको प्रचार हुन नसकेको बताए । गाउँपालिकाले विकास निर्माणका सवालमा सबैलाई समेटेर काम गरेको र भविष्यमा अझै कामगर्दै जाने उनले बताए ।
कार्यक्रममा मिक्लाजुङ–१ का वडाध्यक्ष पर्वत राई, २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ, ४ का वडाध्यक्ष विशाल राई, ६ का वडाध्यक्ष खडि मगर, ९ का वडाध्यक्ष सेमन्तराज दाहाल, कांग्रेस कार्यकर्ता उत्तम खड्गी, पारस मिभक, मनोज सुवेदी, बालकृष्ण श्रेष्ठलगायतले जनप्रतिनिधिहरुले जनताको मन छुने खालको काम गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधिद्वय बानु सुब्बा, उषा राई, कांग्रेस क्षेत्रीय कोषाध्यक्ष राधा बोहोरा, नेपाल महिला संघकी क्षेत्रीय सचिव गीता अधिकारी खतिवडालगायतको उपस्थिति थियो ।