२०८१ भाद्र २४, सोमबार

सम्मान ग्रहण गर्दै साँसद शोभाले भनिन्–‘सवैको सल्लाहबाट अगाडि बढ्छु’

२०७९ माघ ८, आईतवार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, ८ माघ/सिद्धिविनायक बहुउद्देश्यीय सहकारी सस्था उर्लाबारीले आइतबार प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवालाई सम्मान गरेको छ ।

संस्थाले मोरङको उर्लाबारी–२ बाँसेचौरीमा वनभोज कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष गणेश खत्रीले प्रदेश सभा सदस्य शोभालाई सम्मान–पत्र प्रदान गरेका थिए ।


यस सम्मानले आफूलाई थप जिम्मेवारी महशुस भएको बताउँदै उनले आफूले पाएको जिम्मेवारीलाई जहिल्यै काँधमा बोकेर हिँड्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले सबैको साथ, सहयोग, हौसला र प्रेरणाले आफू प्रदेश सभा सदस्य बनेको उल्लेख गर्दै सबैको सल्लाहबाट आफू अगाडि बढ्ने प्रष्ट पारिन् ।

यस क्षेत्रमा रहेका समस्या समधान गर्नु निकै चुनौतिपूर्ण रहेको र ती समस्या समधान जनप्रतिनिधिको एकल प्रयासबाट मात्र सम्भव नहुने भएकाले सम्पूर्ण क्षेत्रवासीको साथ र सहयोग आवश्यक पर्ने उनले बताइन् ।

देश र जनताको हितका लागि आफू समाजसेवा र राजनीतिमा प्रवेश गरेको स्पष्ट पार्दै उनले आफूलाई सबैको साथ, सहयोग र सल्लाह आवश्यक पर्ने बताइन् ।


सहकारीलाई बचत तथा ऋणको कारोबारमा मात्र सिमित नराखी व्यवसायमुखी वनाउनुपर्नेमा उनले जोड दिइन् । समाजमा रहेका कमजोर आर्थिक अवस्था भएका परिवारको जीवनस्तर उकास्न सहकारी स्थापना भएकाले सहकारीको मर्म र भावनाअनुरूप अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

सम्मानित साँसद शोभा सो संस्थाको पूर्व सल्लाहकार तथा शेयर सदस्य भएको जानकारी प्राप्त भएको छ ।

त्यस कार्यक्रममा संस्थाका अध्यक्ष खत्रीले आफ्नो शेयर सदस्य प्रदेश सभा सदस्यमा निर्बाचित हुनुभनेको समग्र उर्लाबारीवासीलाई नै गौरवको विषय भएको विचार व्यक्त गरे । २०५९ सालमा स्थापित सो संस्थामा हाल करिब नौ सय शेयर सदस्य रहेको खत्रीले जानकारी दिए ।


त्यस कार्यक्रममा समाजसेवी तथा राजनीतिकर्मी ललित अधिकारी, व्यवसायी मनोहरी दहाल, संस्थाका पूर्व अध्यक्ष भानुभक्त शर्मा पराजुली, बीरबल थापा, उर्लाबारी बहुमूखी क्याम्पसका पूर्व प्रमुख भिम लामिछाने, उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयका प्रधानध्यापक कुमार पोख्रेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार