
इजरेलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरेको छ। तर नेपाली विद्यार्थी र अर्का एक जनाको अवस्था अझै स्पष्ट छैन।
दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी “जीवित रहेको प्रमाण फेला नपरेको” औपचारिक जानकारी इजरेली सेनाले गराएको इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।
हमासको नियन्त्रणमा बाँकी रहेका ४८ जनामध्ये २० जीवित र २६ मृत बन्धकको नाम हमासले इजरेली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशीको नाम जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा परेन। “केही थप आयो र चामत्कारिक रूपमा केही भयो भने मात्रै अन्य कुरा। नभए विपिन जीवित नभएको आधिकारिक जानकारी उनीहरूले आज [बिहान] दिएका हुन्,” राजदूत पण्डितले भने।
हमासले पहिलो चरणमा सात बन्धकलाई उत्तरी गाजाबाट र दोस्रो चरणमा १३ जनालाई दक्षिणी गाजाबाट मुक्त गरेको थियो। इजरेली सेनाले उनीहरू इजरेल पुगिसकेको जनाएको छ। ज्यान गुमाइसकेका बन्धकहरूको शव भने हस्तान्तरण हुन बाँकी नै छ।
विपिन जोशीको परिवारलाई जानकारी
बन्धकहरू मुक्त हुनुअघि हमासले मृत र जीवित बन्धकहरूको सूची इजरेली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशी र अर्का एक बन्धकको नाम दुवै सूचीमा परेको देखिँदैन।
हमासले उपलब्ध गराएको सूची इजरेल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताए।
आईडीएफले नेपालबाट विपिनका ठूलोबुवाका छोरा किशोर जोशीलाई, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पालाई र इजरेलमा राजदूत पण्डितलाई ग्रूप कलमा सहभागी गराएर इजरेली सरकारका प्रतिनिधिले पछिल्लो जानकारी गराएका हुन्। स्थानीय समयानुसार सोमवार बिहान ७ः३० बजेतिर उक्त जानकारी गराइएको हो।
किशोर जोशीले पनि सामूहिक कलमा आफू सहभागी भएको र जीवित २० जनाको सूचीमा आफ्ना भाइ विपिन नरहेको जानकारी पाएको बीबीसीसँग पुष्टि गरे।
“जीवित भनिएका २० जना बन्धकको सूचीमा विपिन छैनन् भनेर उहाँहरूले हामीलाई भन्नुभयो,” सामूहिक टेलिफोन कुराकानीमा सहभागी किशोरले बीबीसीसँग भने।
सन् २०२३ मा हमासको नेतृत्वमा इजरेलमा भएको अप्रत्याशित आक्रमणपछि जोशीसहित २५१ जनालाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए।
इजरेलमा भएको आक्रमणमा १० नेपालीसहित १,२०० जनाको ज्यान गएको थियो।