२०८३ आश्विन २५, आईतवार

उर्लाबारीमा नगरगान रचना गर्न आह्वान

२०८३ आश्विन ९, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ९ असोज/मोरङको उर्लाबारी नगरपालिकाले दोस्रोपटक सर्वसाधारणलाई नगरगान रचना गर्न आह्वान गरेको छ ।

नगरपालिकाले आफ्नो ऐतिहासिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक तथा विकासगत पहिचान झल्काउने नगर प्रतीक (चिन्हं) र नगर गान तयार गर्नका लागि दोस्रो पटक सार्वजनिक सूचना आह्वान गरेको हो ।

नगरपालिकाले इच्छुक नेपाली नागरिक, संघ(संस्था तथा स्रष्टाहरबाट आगामी २०८३ असोज २२ गते कार्यालय समयभित्र प्रस्ताव पेस गर्न अनुरोध गरेको हो ।

यसअघि २०८३ साउन ११ गते प्रकाशित सूचनाका आधारमा प्राप्त भएका प्रस्तावहरुमाथि मूल्यांकन गर्दा उक्त विषय दीर्घकालीन रुपमा नगरपालिकाको गौरसँग जोडिएकाले थप उत्कृष्ट बनाउन र अरु नयाँ प्रस्तावहरुलाई समेत समावेश गर्ने उद्देश्यले यो दोस्रो पटक सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जारी गरेको सूचना अनुसार लोगो (प्रतीक चिन्ह)को हकमा उर्लाबारीको भूगोल, प्राकृतिक तथा सांस्कृतिक पहिचान झल्कने हुनुपर्नेछ । त्यसैगरी नगर गानको हकमा भने रचना नेपाली भाषामा, लयबद्ध र गेयात्मक हुनुपर्ने तथा शब्द संख्या अधिकतम ६० शब्दसम्म मात्र हुनुपर्ने नियम तोकिएको छ । नगर गानले उर्लाबारी नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक तथा विकासगत पक्षहरुको भावना समेटेको हुनुपर्नेछ र यो पूर्ण रुपमा मौलिक हुनुपर्नेछ । भाषा सरल र शुद्ध हुनुका साथै रचनामा प्रयोग भएका शब्दहरू नेपाली जनजिव्रोमा प्रचलनमा रहेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

इच्छुक रचनाकारहरुले आफ्नो रचना नेपाली युनिकोड फन्टमा टाइप गरी पीडीएफ फाइल बनाई नगरपालिकाको आधिकारिक इमेलमा पठाउन वा खामबन्दी गरी उर्लाबारी नगरपालिकाको कार्यालयमा सिधै पेस गर्न सक्नेछन् । यसका साथै रचनाकारले आफ्नो रचनाको साथमा नाम, ठेगाना, मोबाइल नम्बर, इमेल आईडी, शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रतिलिपि सहितको निवेदन अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ ।

 

 

+ posts