उर्लाबारी, २६ जेठ/मनसुन कोशी प्रदेशबाट अन्य मुलुकतिर फर्केको छ । जेठ १५ गते राति नेपाल भित्रिएको मनसुन देशभर नफैली कोशी प्रदेशबाटै अन्यत्र बाहिरिएको हो । जसकारण नेपालमा मनसुनी वर्षा निस्क्रिय बनेको छ ।
मनसुन देशव्यापी रूपमा विस्तार हुन नसक्दा विभिन्न भेगमा अचाक्ली तापक्रम बढेसँगै खडेरी हुन थालेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले पूर्वबाट मधेश, बागमती हुँदै पश्चिम सर्नुपर्ने मनसुन कोशीबाट पछाडि फर्केर पूर्वी एसियाका अन्य मुलुकतिर तेर्सिएको बताए ।
माथिल्लो वायुमण्डलमा सिर्जना हुने मनसुनी वायुका दुई वटा शाखा हाँगा हुन्छन् । तीमध्ये एउटा हाँगा अरब सागरतिर जान्छ भने अर्को हाँगा बङ्गालको खाडीतिर आउँछ । नेपालमा आउने मनसुनी वायु बङ्गालको खाडीको जलवाष्प बोकेर देशभर फैलनुपर्ने हुन्छ ।
मौसमविद् झाले बङ्गालको खाडीमा बलियो न्यूनचापीय प्रणाली सिर्जना हुन नसकेको र मनसुनी वायुलाई आकर्षण गरेर आफूतिर तान्ने बताए ।
पूर्वी एसिया क्षेत्रमा भने बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट तानिएर उता सोहोरिएको उनले बताए । कोशीमा आएर अड्केको मनसुनी वायुले वातावरण बनाउँदा त्यही बनेका स्थानीय प्रणालीसँग मिसिएर अहिले पनि हल्कादेखि मध्यम वर्षा गराइरहेको जानकारी झाले दिए ।





