२०८३ आश्विन २५, आईतवार

बलात्कारमा परेकी युवतीको घरमा पुग्यो प्रहरी टोली

२०७९ जेष्ठ ६, शुक्रबार
पढ्ने समय : 4 मिनेट

आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा कन्सल्टेन्सीका सञ्चालकले बलात्कार गरेको घटनाकी पीडित युवतीलाई भेट्न प्रहरी उपरीक्षकसहितको टोली पुगेको छ।

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक, परामर्शदाता लगायत पीडितलाई भेट्न पुगेका हुन्।

मिस ग्लोबल इन्टरनेसनल- २०१४ मा सहभागी एक प्रतियोगीले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आठ वर्षअघि आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी छन्।

उनी त्यसबेला १६ वर्षकी थिइन्।

सो कुरा सार्वजनिक भएपछि शुक्रबार संसदमा पनि यस विषयमा कुरा उठेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै यसमा छानबिन गर्न र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका थिए।

घटना सार्वजनिक भएपनि बलात्कारसम्बन्धी हद म्यादका कारण जाहेरी दर्ता गर्न नमिलेको पीडित युवतीले बताएकी थिइन्।

‘पीडितको अवस्थाबारे बुझ्न, भिक्टिम सपोर्ट गर्न हाम्रो टोली त्यहाँ पुगेको छ। एसपी, डिएसपी, काउन्सेलर सहितको टोली पुगेको हो,’ कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले भने, ‘हद म्यादका कुराहरू पनि आएका छन्। के गर्न सकिन्छ भनेर हामीले आन्तरिकरूपमा कानुनविज्ञहरूसँग छलफल गरिरहेका छौं।’

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक किशोरीलाई बलात्कार गरेको भन्ने भिडिओ सार्वजनिक भएपछि अरू दुई जनाले पनि उक्त घटना पुष्टि हुने गरी आफ्नो भनाइ राखेका छन्।

उक्त कन्सल्टेन्सीका एक पूर्वकर्मचारीले सेतोपाटीसँग कुरा गर्दै ती युवतीले भिडिओमा वर्णन गरेको घटनाको आफू पनि साक्षी भएको बताएका छन्। उनले आफ्नो नाम भने सार्वजनिक गर्न चाहेनन्।

‘मैले त्यो बहिनीको भिडिओ हेरेँ। ब्युटी कन्टेस्ट आयोजना भएको छ महिनापछि अफिसमा भएको जुन घटना उनले सुनाएकी छन्, त्यो घटनाको एउटा साक्षी म पनि हुँ,’ ती पूर्व कर्मचारीले भने।

त्यो दिन दिउँसो खाजा खाने बेलातिर ती युवती बानेश्वरको थापागाउँस्थित पाण्डेको अफिसमा आएको उनी सम्झिन्छन्।

त्यो बेला युवतीका साथमा उनले भिडिओमा भनेका खड्का थरका व्यक्ति पनि थिए। आफूले के छ भन्दै सोधेपछि उनीहरूले मनोज पाण्डेलाई भेट्न आएको बताएर बाहिरको सोफामा बसेको उनले बताए।

त्यस दिन ती युवतीको रिसाएको अनुहार आफूले अहिले पनि सम्झिरहेको उनी बताउँछन्।

उनका अनुसार केही बेरमा पाण्डे आए। युवती, उनीसँगै आएका खड्का थरका व्यक्ति र पाण्डेसहित तीनै जना उनको कार्यकक्षमा पसे। त्यहाँ उनीहरूबीच केही बेर भनाभन भयो। स्थिति बिग्रिन थालेपछि उनी पनि पाण्डेको कार्यकक्षमा गए।

त्यतिखेर ती युवतीले पाण्डेले आफूमाथि बलात्कार प्रयास गरेको बताएको उनी सम्झिन्छन्।

‘उहाँले पाण्डेजीले आफूमाथि एटेम्प्ट टू रेप गर्‍यो, ज्यानमा जताततै छुने गर्छ, मलाई कति यातना दियो, डिप्रेसनको दबाइ खान थालेको छु भन्नुभएको थियो। बलात्कार नै गर्‍यो भनेको मलाई याद छैन। तर आज भिडिओ हेरेपछि बलात्कार नै भएको भन्ने सुन्दा म स्तब्ध भएको छु,’ उनले भने।

पाण्डेले भने त्यतिञ्जेल ‘त्यस्तो होइन’ भनिरहेका थिए। त्यसपछि युवतीसँगै आएका खड्का थरका व्यक्तिले पाण्डेलाई तीन-चार झापड लगाए।

‘पाण्डेजीले कुटाइ खाने बेलातिर अफिसमा होहल्ला भयो। त्यो बेला मोबाइलमा के-के छन् डिलिट गर्ने कुरा पनि भएको थियो। डिलिट पनि गरे क्यार, तर के-के डिलिट गरे मलाई याद छैन। वरिपरि भएका सबै मान्छे बोलिरहेका थिए। को के बोले भन्ने पनि मलाई याद  छैन,’ उनले भने।

उनले थपे, ‘फोटोग्राफर श्रीधर (पौडेल) जी पनि आउनुभएको थियो। एक जना अर्को त्यही अफिसको कर्मचारी हुनुहुन्थ्यो जो अहिले विदेशमा हुनुहुन्छ। अरू को को थिए भन्ने त बिर्सिसकेँ। झ्याल खुलै थियो, पारी बोइज होस्टलबाट केटाहरूले हेरिरहेका थिए। त्यो बेला अर्चना पन्थी पनि भएको मलाई याद छ। कुटाइ खाएपछि पाण्डे बाहिर निस्के। ट्वाइलेट गए कि कता गए कुन्नि। मैले त्यही बेला त्यो बहिनीलाई कानुनी प्रक्रियामा जाने हो भने जानू, मनोजलाई कठघरामा लैजानू भनेको थिएँ।’

अफिसमा भएकै बेला ती युवतीले पाण्डेकी श्रीमतीलाई पनि फोन गरेर जानकारी गराएको उनले सम्झिए।

उनका अनुसार पाण्डे केही समयपछि अफिस आए। युवती र उनका साथी त्यहीँ थिएँ। त्यसपछि युवतीले अहिले एकपटकलाई छाडे पनि आइन्दा अरूलाई यस्तो गरेको थाहा पाए नछाड्ने बताएकी थिइन्।

‘उहाँले अहिले एकपटक यस्तै भयो, आइन्दा कसैलाई यस्तो गरेको सुनेँ भने मैले छाड्ने छैन भन्नुभयो। मैले पनि यस्तो हुने भए हामी अबदेखि ब्युटी पेजेन्ट नै नगर्ने, म यहाँ कामै गर्दिनँ भनेको थिएँ,’ उनले भने।

उनका अनुसार त्यसपछि उक्त कन्सल्टेन्सीले ब्युटी पेजेन्ट कार्यक्रम नै आयोजना गरेन।

फोटो पत्रकार श्रीधर पौडेलले पनि ती कर्मचारीको कुरा पुष्टि गरे।

‘ब्युटी पेजेन्टको धेरै समयपछि मनोज पाण्डेको अफिसका एक कर्मचारीले बोलाएर म त्यहाँ गएको थिएँ। त्यहाँ तीन चार जना मानिस थिए। मनोज पाण्डेलाई खड्काजीले पिटिरहेका थिए,’ उनले भने, ‘म पुगेर के भयो भनेर सोधेँ। त्यो बहिनी (पाण्डेले आफूमाथि बलात्कार गरेको बताउने युवती) ले मलाई सेक्सुअल ह्यारेसमेन्ट गर्‍यो भन्नुभयो। त्यही बेला टेबुलमा रहेको क्यालेन्डर उठाएर मैले पनि मनोज पाण्डेलाई हिर्काएँ। त्यसपछि उसले रूँदै माफी मागेको थियो।’

त्यसपछि आफूहरूले युवतीलाई प्रहरीकहाँ जान सुझाएको पौडेलले दाबी गरे।

‘उक्त कन्सल्टेन्सीमा काम गर्ने एक जना स्टाफ र मैले पुलिसमा जान भन्यौं। त्यो बहिनीले अब आइन्दा अरू केटीलाई यस्तो गरिस् र ब्युटी पेजेन्ट आयोजना गरिस् भने स्टेजमै आएर तेरो बेइज्जत गरिदिन्छु भनेपछि मनोजले हुन्छ भनेका थिए,’ उनले भने, ‘त्यति कुरा पछि म निस्किएको थिएँ। मलाई अरू थाहा भएन।’

प्रहरीकहाँ जान सुझाउने कर्मचारीले त त्यसपछि ‘म यहाँ काम गर्दिनँ’ भन्दै कन्सल्टेन्सीमा काम गर्न छाडेको पौडेलले बताए। युवतीले पनि आफ्नो भिडिओमा यो कुरा भनेकी छन्।

त्यसपछि पीडित युवतीले एक पूर्व मिस नेपाललाई फोन गरेको बताएकी छन्। ती पूर्व मिस नेपाल माल्भिका सुब्बा भएको बिहीबार खुलेको थियो। त्यतिखेर आफूले घटनाबारे बताउँदा ‘तिम्रो समस्या हो, मलाई किन फोन गरेको’ भनेर माल्भिकाले सुन्नै चाहिनन्।

कन्सल्टेन्सी सञ्चालकबाट छ महिनासम्म बलात्कार, धम्की र यातना भोगिसकेपछि आफूले आदर्श मानेकी सुब्बालाई सहायताका लागि फोन गरेको तर उनले बेवास्ता गरेको ती युवतीले भिडिओमा उल्लेख गरेकी थिइन्।

युवतीले भोग्नुपरेको घटनाबारे त्यति बेला राम्ररी नसुनेकोमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले सार्वजनिक माफी मागेकी छन्।

आफूले सन् २०१४ देखि २०२१ सम्म भोगेका बलात्कार, यौन दुर्व्यवहार र यातनाबारे युवतीले २० वटा साना साना भिडिओ क्लिपमा विस्तार गरेकी छन्। त्यसमै उनले कन्सल्टेन्सी सञ्चालक पाण्डेले आफूलाई बेहोस हुने औषधि मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी हुन्।

उक्त कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।

मिस ग्लोबल प्रतियोगितामा छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा पाण्डेबाहेक कोही नभएको युवतीले भनेकी छन्।

उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा पाण्डेले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ’ भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई ‘लेमोनेड’ खान दिए।

‘लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,’ उनले भिडिओमा भनेकी छन्, ‘अहिले नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।’

त्यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले भनेकी छन्।

बिहान घर जाने बेला ती व्यक्तिले ‘यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याएको पनि उनले बताएकी छन्।

उनका अनुसार त्यति बेला उनी १६ वर्षकी थिइन्। पाण्डेले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्।

उनले छ महिनापछि खड्का थरका आफ्ना साथीको सहयोगमा पाण्डेको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। पाण्डेले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।

आफ्ना साथीले पाण्डेलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्। यो घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि यौन दुर्व्यवहार सामना गरेपछि आफूले मोडल बन्ने सपनै छाडिदिएको उनले भिडिओमा भनेकी छन्।

उनले मोडल र अभिनेत्री बन्न चाहने नयाँ पुस्ताका किशोरी तथा युवतीलाई मान्छेहरू भेट्न जाँदा सुरक्षित भएर जान र एक्लै नजान सुझाएकी छन्।

+ posts