
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहान सम्पर्कविहीन भएको छ। पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको हो।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए।
मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीका अनुसार १० बजेर १५ मिनेटमा जोमसोम अवतरण हुनुपर्ने थियो। तर मुस्ताङको आकाशमा प्रवेश गरिसकेपछि जहाज सम्पर्कविहीन भएको दानीले बताए।
जहाज खोजीका लागि पठाइएको हेलिकप्टर मुस्ताङ फर्किएको छ। फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फिर्ता आएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीका लागि पठाउने भएको छ ।
साथै नेपाली सेनाको टोलीलाई पनि जहाज खोजी कार्यका लागि पठाइएको छ।
आइतबार बिहान समिट एयर र तारा एयरका जहाज सँगसँगै पोखराबाट जोमसोमका लागि उडेका थिए।
समिटको जहाज अघि थियो भने ताराको ९एन एइटी जहाजपछि थियो।
जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए।
‘समिटको जहाज ल्यान्ड भयो। पछि आइरहेको ताराकोलाई पनि ल्यान्डिङका लागि सम्पर्क गरौं भन्दा सम्पर्क हुनै सकेन,’ शर्माले भने,‘पाइलटले जहाजमा कुनै समस्या आएको संकेत पनि विमानस्थलको एटिसीलाई दिएका थिएनन्।’
समिट एयरले आजै जोमसोममा अर्को फ्लाइट पनि गरिसकेको थियो भने तारा एयरको पहिलो फ्लाइट थियो।
जोमसोम जाने जहाज लेतेको आकाशमाथि पुगेपछि जोमसोम टावरसँग सम्पर्क गर्छन्।
सुरूमा कुरा हुँदा क्याप्टेन प्रभाकर घिमिरेले अरू बेलाजस्तै सामान्य कुरा गरेका थिए।
‘उहाँ यो रूटमा उडाइरहने अनुभवी पाइलट हो,’ शर्माले भने।
जहाजसँग सम्पर्क नभएपछि पोखरा र काठमाडौं विमानस्थललाई जानकारी दिइएको उनले बताए।
टावरसँग सम्पर्कमा नआएको जहाज अहिलेसम्म फेला परेको छैन। जहाजको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ।
पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार तारा एयरको नाइन एन एइटी जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।
१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको देखिन्छ।
फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसा-सिखा क्षेत्रबाट हराएको देखिन्छ।
अधिकारीहरूले जहाज लेतेदेखि टुकुचेको बिचमा हराइरहेको हुनसक्ने आशंका गरेका छन्। लेते थासाङ गाउँपालिकामा पर्छ। थासाङका अध्यक्ष प्रदीप गौचनले लेतेदेखि टुकुचेको बीचमा मौसम खराब भएकाले जहाज त्यहीँ हराएको हुन सक्ने बताए।
‘लेतेदेखि टुकुचेबीच निकै बादल लागेको छ। अहिले यहाँ सिमसिम पानी पनि परिरहेको छ,’ गौचनले भने।
को को थिए यात्रु?
१.वाजभवी बन्देकर
२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६ धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
चालक दलको सदस्यमा
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
को–पाइलट उत्सव पोखरेल
एयर होस्टेज किस्मी थापा