२०८१ कार्तिक २५, आईतवार

रुसद्वारा पहिलो चरणको युद्ध सकिएको घोषणा

२०७८ चैत्र १३, आईतवार
पढ्ने समय : 3 मिनेट

मस्को, १३ चैत/किभ — रुसले युक्रेनविरुद्ध पहिलो चरणको युद्ध सकिएको घोषणा गरेको छ । एक महिनाअघि युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले आफ्नो ‘रणनीति परिवर्तन गर्न’ युद्ध सकिएको घोषणा गरेको ठानिएको छ । रुसी रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ ।

मन्त्रालयले ‘युक्रेनविरुद्धको विशेष सैन्य कारबाही’ अब पूर्वी क्षेत्रलाई मुक्त बनाउन केन्द्रित हुने घोषणा गरेको छ । ‘हामीले कारबाहीको पहिलो चरणअन्तर्गतको उद्देश्य लगभग प्राप्त गरिसकेका छौं,’ रुसी वरिष्ठ सैनिक अधिकारी सर्गेई रुद्स्कोईले भने, ‘युक्रेनी सशस्त्र फौजको युद्ध क्षमता कमजोर भएको छ जसले अब हामीलाई मुख्य लक्ष्य हासिल गर्न सहज हुन्छ ।’

अब रुसी सेनाले डोन्बासको पूर्ण मुक्तिका लागि ध्यान केन्द्रित गर्ने उनको भनाइ छ । युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा रुसले समर्थन गरेका पृथकतावादीहरूको बाहुल्य छ । रुद्स्कोईले रुसी फौजले युक्रेनी सेनालाई अन्य क्षेत्रमा अल्झाएर पूर्वी क्षेत्रमा केन्द्रित भइरहेको बताएका छन् ।

पछिल्लो समय रुसी फौजले भू–राजनीतिक महत्त्वको बन्दरगाह सहर मरिउपोलमा आक्रमण केन्द्रित गरेको थियो । मरिउपोलमा दसौं हजार मानिस खाना, पानी र न्यानोको अभावमा जीवन गुजार्न बाध्य भएका र उनीहरूको अवस्था खराब हुँदै गएको बताइएको छ ।

त्यस्तै, रुसी फौजले युक्रेनी राजधानी किभलाई घेराबन्दी गरेर बमबारी जारी राखेका छन् । रुसी फौजले युक्रेनका केही सहरमाथि नियन्त्रण कायम गर्न र भ्लोदिमिर जेलेन्स्की नेतृत्वको सरकार ढाल्नका लागि आक्रमण केन्द्रित गरेको बताइएको थियो । तर युक्रेनी सेनाको कडा प्रतिवादका कारण रुसले अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।

रुसी राष्ट्रपति पुटिनले युक्रेनको नि:शस्त्रीकरणमा जोड दिँदै आएका छन् । उनले युक्रेनमा नवनाजीहरूले नेतृत्व गरेको आरोप लगाएका छन् । तर युक्रेन र पश्चिमा देशहरूले उनको आरोप ‘युद्ध सुरु गर्ने वाहना मात्रै’ भएको बताएका छन् ।

रुसी फौजले सोचेअनुसारको सफलता हासिल गर्न नसकेपछि पहिलो चरणको युद्ध सकिएको घोषणा गरेको पश्चिमा अधिकारीहको दाबी छ । पछिल्लो घोषणालाई मस्कोको रणनीति असफल भएको संकेतका रूपमा लिन सकिने उनीहरूको भनाइ छ । तर पनि रुसी घोषणाका आधारमा मस्कोले किभलाई नियन्त्रणमा लिने उद्देश्य छाडिसकेको निष्कर्षमा पुग्नु हतार हुने पश्चिमा अधिकारीहरूको भनाइ छ ।

एकैपटक धेरै मोर्चामा सफल सैन्य कारबाही गर्न निकै गाह्रो हुने भएकाले पनि रुसले आफ्नो रणनीतिमा परिवर्तन ल्याएको कतिपयको विश्लेषण छ । त्यस्तै, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भनेजस्तै रुसी सेनाले ‘अनपेक्षित क्षति व्यहोरेको’ हुन सक्ने देखिएको छ ।

युक्रेनले नाटोको सदस्यता लिन लागेको भन्दै रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमाथि ‘सैन्य कारबाही’ थालेको थियो । एक महिना लामो रुसी आक्रमणमा एक हजार जनाभन्दा बढी सर्वसाधारण मारिएका छन् । संयुक्त राष्ट्रसंघले १ हजार ८१ जना सर्वसाधारणको ज्यान गएको र १ हजार ७ सय ७ जना घाइते जनाएको छ । मारिनेमध्ये १ सय ३५ जना बालबालिका छन् ।

रुसले आफ्ना १ हजार ३ सय ५१ सैनिक मारिएका जनाएको छ । ३ हजार ८ सय २५ सैनिक घाइते भएका जनाएको छ । युक्रेनले भने १६ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । अमेरिकी गुप्तचर निकायले भने ७ हजार ५ सय रुसी सैनिक मारिएको अनुमान गरेको छ ।

सैन्य आक्रमण सुरु भएयता ३७ लाख युक्रेनीले देश छाडेका छन् । ७५ लाख बालबालिकामध्ये ४३ लाख विस्थापित भएका जनाइएको छ । विस्थापितमध्ये १८ लाख छिमेकी देश पुगेका छन् भने २५ लाख आन्तरिक रूपमा विस्थापित भएका हुन् । त्यस्तै, १४ लाख युक्रेनी पानीबिना र ४६ लाख मानिस सीमित आपूर्तिका भरमा बाँच्न बाध्य भएका राष्ट्रसंघले जनाएको छ ।

बाइडेनले शरणार्थीलाई भेटे

वार्सा–रुस–युक्रेन युद्धपछि विकसित घटनाक्रमबारे छलफल गर्न पोल्यान्ड पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार युक्रेनी शरणार्थीहरूलाइ भेटेका छन् ।

राजधानी वार्सामा युक्रेनी शरणार्थीलाई भेट्ने क्रममा उनले एउटी बालिकालाई उचाले, केहिबेर काखमा लिए र ती बालिकासहित उनको परिवारसँग सेल्फि खिचे । उनले आफूले युक्रेनी भाषा बोल्न नसक्ने बताउँदै अरुको सहयोगमा ‘ती बालिकालाई आफूले घर लैजान चाहेको’ बताए ।

शरणार्थीलाई भेटेलगत्तै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कडा आलोचना गरेका छन् । बाइडेनले राष्ट्रपति पुटिन ‘कसाही’ भएको बताएका सीएनएनले जनाएको छ । उनले युक्रेनी शरणार्थीलाई ‘बहादुर’ को संज्ञा दिएका छन् ।

वार्सामा बाइडेनले युक्रेनी उच्च अधिकारी र पोल्यान्डका राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । पोल्याण्डका राष्ट्रपति अन्द्रेज डुडासँगको भेटमा उनले युरोपको शान्ति सिधै अमेरिकाको स्थायित्वसँग जोडिएको दाबी गरे । बाइडेनले उत्तर एट्लान्टिक सन्धी संगठन (नाटो) लाई विभाजित पार्ने रुसी राष्ट्रपति पुटिनको सपना असफल भएको बताए । रुसी फौजलाई युक्रेनी सेना कडा जवाफ दिएको बाइडेनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार