२०८१ चैत्र १०, सोमबार

चर्चा कम तर सफल

२०७९ आश्विन १२, बुधबार
पढ्ने समय : 2 मिनेट

रूपेन्द्र शेर्मा

उर्लाबारी, १२ असोज/मोरङको उर्लाबारीमा एकजना यस्ता व्यक्ति छन् । जसको चर्चा कम हुन्छ । तर उनी अत्यन्तै सफल व्यक्ति हुन् । उनको नाम हो–राजु बुढाथोकी ।

सफल यस अर्थमा की उनकै कारणले नगरवासीले शुद्ध पानी पिउन पाएका छन् । पानी मानव स्वास्थ्यका लागि अत्यावश्यक कुरा हो । मानव शरिरले गर्ने जे काम पनि पानीको स्वस्थ्य आपूर्तिमै निर्भर हुन्छ । त्यसैले मानव जीवनको अपरिहार्य रूपमा रहेको शुद्ध पानी समुदायमा पुर्याउनु सामाजिक र मानवीय दुवै दृष्टिले प्रशंसीय कार्य हो । यो प्रशंसाको पात्र हुन् बुढाथोकी ।

२०५२ सालमा उर्लाबारीमा खानेपानी आयोजना निर्माणका लागि छलफल हुँदा कसैले पनि सोचेका थिएनन् की उर्लाबारीमा योस्तरमा खानेपानी बितरण हुन्छ भनेर । हाल नगरका करिब छ हजार दुई सय घरधुरीले शुद्ध पानी पिउन पाएका छन् । जसको प्रमुख श्रेय तीनै बुढाथोकीलाई जान्छ ।

बुढाथोकीसँग उर्लाबारी खानेपानीमा काम गरेको २७ वर्षको अनुभव छ । प्राविधिक र प्रशासनिक दुवै दृष्टिकोणले उनी निपुण छन् । प्रारम्भिक कालमा खानेपानीको व्यवस्थापन समिति सदस्य पदमा रही काम सुरु गरेका बुढाथोकीले २०६० सालदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

बुढाथोकीकै सक्रियतामा करिब एक सय ५० वटा धारा जडान गरी उर्लाबारी खानेपानीको इतिहास सुरु भएको हो । हाल उर्लाबारी नगरका नौवटै वडामा खानेपानीको धारा बिस्तार गरिएको छ ।

स्थापनाकालमा उर्लाबारी खानेपानी आर्थिकरूपले गरीब थियो । उर्लाबारी खानेपानीसँग अहिले करिब एक अर्ब रुपैयाँ बराबरको चलअचल सम्पति छ । उर्लाबारी–६ मा राधिका माध्यमिक विद्यालयले उपलब्ध गराएको १० कठ्ठा जग्गामा खानेपानी सञ्चालन गरिएको हो । तर हाल उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उर्लाबारी नगरका बिभिन्न वडामा एक विघा १८ कठ्ठा चार धुर जमिन रहेको छ ।

त्यसो त स्थापनाकालमा उर्लाबारी खानेपानीले बिभिन्न किसिमका समस्या र चुनौतिहरुको सामना गर्नुपरेको बुढाथोकी बताउँछन् । ‘सडकहरु साँगुरा थिए, विजुली नियमित थिएन, फिल्टर थिएन’, उनले भने, ‘बिभिन्न समस्याहरुका बावजुद खानेपानीको पाइप बिस्तार गर्नु निकै कठिनाई थियो ।’ कहिलेकांही धारामा रातो पानी गएका कारण उपभोक्ताले गुनासो गरेपनि निरन्तर मिहनेतका कारण सफल भएको उनले बताए ।

नेपालमा अहिले ६२ प्रतिशत नागरिकहरुले मात्र शुद्ध पानी पिउन पाएका छन् । देशका गुणस्तरीय खानेपानी बितरण गर्नेमध्ये उर्लाबारी पनि एक हो । सरकारबाट दुई/तीन वर्षको अन्तरालमा सहयोग प्राप्त भएकोले गर्दा पनि उर्लाबारी खानेपानी हालको अवस्थामा आइपुगेको बुढाथीकी बताउँछन् ।


व्यवस्थापन समितिले निरन्तर पहल गरेका कारण सरकारले सहयोग प्रदान गरेकाले उर्लाबारी खानेपानीले प्रगति गरेको बुढाथोकीले बताए । ‘उर्लाबारी खानेपानी सफल हुनुमा सही व्यवस्थापन समिति पनि हो’, उनले भने ।

देशका बिभिन्न जिल्ला गएर खानेपानीसम्बन्धी प्रशिक्षण दिँदै आएका बुढाथोकी प्रारम्भिक कालदेखि नै गुरु योजना बनाएर उर्लाबारी खानेपानीको हितमा क्रियाशिल रहेकाले हाल उपभोक्ताले गुणस्तरीय पानी पिउन पाएका हुन् ।

उर्लाबारी नगरभरी एउटै खानेपानी बनाएर आगामी पाँच वर्षभित्र सबै नगरवासीको पहुँचमा शुद्ध खानेपानी पुर्याउने उनको चाहना छ । ‘उर्लाबारी खानेपानीलाई नेपालकै नमुना बनाउने मेरो ईच्छा छ’, बुढाथोकीले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार